काठमाडौँ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान अवरुद्ध हँुदा यात्रु अलपत्र परेका छन्। बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र वर्षात समेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि बिमानले उडान नभरेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए। सोमबार सात वटा उडान तालिका भए पनि एउटा पनि उडान भएन। उडान प्रभावित हुँदा करिब २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै बस्न बाध्य भएका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको बिकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो। केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौं गएका छन्। सल्लेरीदेखि खुम्बुपासाङल्हामु गाउँपालिका १ खारिखोलासम्म यसै वर्ष सडक सञ्जाल पुगेको छ। तर खरिखोलासम्म पुग्न माप्यदूधकोशी–१ र २ जोड्ने दूधकोशीनदीमा पुल नहुँदा सिधा सवारी सम्पर्क टुटेको हो। हिउँदमा ह्युमपाइप राखेर यातायात सञ्चालन भए पनि करिब एक महिना यता पानीको बहाब बढेपछि सवारी आवगमनमा समस्या भएको हो। आगामी वर्ष खुम्बुपासाङल्हामु गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले जोड्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए। गाउँपालिका केन्द्र चौरीखर्कसम्म व्यवस्थित सडक पु¥याउन सके खुम्बु क्षेत्र आउने पर्यटकले अहिले भोग्दै आएको समस्याको अन्त्य हुने अध्यक्ष शेर्पाको भनाइ छ। सगरमाथासहित विभिन्न हिमालको अवलोकन गर्न आउने पर्यटकका लागि हवाइ यात्राबाहेकको बिकल्प नभएकै कारण वर्षौंदेखिको समस्या उस्तै छ। मौसम खराबीका कारण यहाँको विमानस्थल विगतमा १५ दिनसम्म बन्द भएको स्थानीय बताउँछन्।





प्रतिक्रिया