देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म्यानमार  हुँदै मानव तस्करी

देशान्तर

काठमाडौँ ।  भारतको मणिपुर राज्यको म्यानमार सीमाबाट एक नेपाली महिलाले अघिल्लो साता दिल्लीस्थित दूतावासमा फोन गरेर नो अब्जेक्सन सर्टिफिकेट एनओसी बारे जिज्ञासा राखिन् । उनले आफूसँग अन्य सात जना नेपाली महिला पनि रहेको बताइन् । म्यानमार हुँदै दुबई जान लागेका उनीहरूलाई मणिपुर प्रहरीले सीमामा रोकेर एनओसी मागेपछि उनीहरूले दूतावासमा सम्पर्क गरेका थिए ।

गत जेठ पहिलो साता दिल्ली महिला आयोग र स्थानीय प्रहरीको संयुक्त टोलीले दिल्लीको किसनगढस्थित एउटा घरबाट दस जना नेपाली महिलालाई उद्धार गर्‍यो । उनीहरूलाई बंगलादेशको बाटो हुँदै खाडी मुलुक पठाउने प्रलोभन देखाएर दुई महिनादेखि त्यहाँ राखिएको थियो ।
गत वैशाख पहिलो साता ६९ नेपाली महिलालाई भारतीय सीमा प्रहरीले मिजोरमको म्यानमार सीमाबाट फर्कायो । मिजोरमको जोखाथर चम्पाईको एक होटलमा राखिएका ती महिलालाई मानव तस्करहरूले म्यानमार पुर्‍याउँदै खाडी उडाउने योजना बुनेका थिए ।

भारत हुँदै म्यानमार पुर्‍याएर गन्तव्य मुलुक उडाउन लागिएका नेपाली महिलालाई भारतीय प्रहरीले फर्काएका यी केही दृष्टान्त हुन् । म्यानमार सीमाबाट फर्काइएका घटना बेलाबेला सार्वजनिक भइरहे पनि त्यही बाटो हुँदै नेपाली महिलालाई उडाउने क्रम रोकिएको छैन । विगतमा दिल्लीलगायतका प्रमुख सहरबाट खाडीलगायतका मुलुक उडाउने गरिएकामा पछिल्लो समय कडाइ गरिएपछि मानव तस्करका गिरोहहरूले वैकिल्पक मार्ग प्रयोग गर्न थालेका हुन् ।

केही वर्षयता मानव तस्करको गिरोहबाट नेपालीलाई उद्धार गर्न सक्रिय रहँदै आएकी दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालिवाल अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुनाले नेपाली र भारतीय निकायहरूबीच बलियो समन्वयबिना तस्करी रोक्न असम्भव हुने बताउँछिन् । ‘जुन किसिमको समन्वय हुनुपर्ने हो, त्यो देखिँदैन’ उनले भनिन् । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भने उद्धारको कामका अतिरिक्त मानव तस्करहरूमाथि कारबाही भइरहेको बताए ।