देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रको दोहोरो उपद्रो

देशान्तर

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अहिले मधेसवादी शक्तिहरूलाई एकताबद्ध बनाएर सरकारलाई दबाब दिन उद्यत् देखिएका छन् । सरकारलाई चारैतिरबाट दबाबलाई खडा गरी आफ्नो सत्ता स्वार्थ र सुविधाका लागि उनको यो रणनीति रहेको छ ।

पछिल्लो समयमा अध्यक्ष उपेन्द्र यादवले अन्ततः राजपासँग वार्ता गरेका छन् । उक्त वार्ता नेकपाको सरकारसँग सम्बन्ध तोडेर संयुक्त रूपमा मधेसका मागहरू पूरा गर्न आन्दोलन गर्ने दुवै पार्टी एकीकरणको सम्भावना खोज्ने विषयमा केन्द्रित रहेको थियो । वर्तमान सरकारले मधेसका मागहरू पूरा गर्न संविधान संशोधन गराउने वाचा दिएका थिए ।

राजपाले पहिले दिएको समर्थन अहिले फिर्ता लिएको छ । ओलीको संघीयता र मधेस विरोधी नीति देखेपछि उसले समर्थन फिर्ता लिएको हो । उसले मधेसवादी दलको पहिचान बनाएको समाजवादी फोरमलाई पनि समर्थन फिर्ता लिन दबाब दिइरहेको छ । तर, समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सत्ताको मोहमा परेर सरकारसँग टाँसिएर बसेको कारणले मधेस आन्दोलन क्रमशः शिथिल हुँदै गएको छ ।

उनको राजनीतिक भविष्य पनि समाप्त हुने स्थिति निर्माण भएपछि यादव आफ्नो ढुलमुले नीतिमा पुनः विचार गर्न तयार भएका छन् । यादवले सरकार परित्याग गरी समर्थन फिर्ता लिएमा ओली नेतृत्वको सरकारलाई ठूलो धक्का लाग्नेछ । राजपा र समाजवादीबीचको वार्ता निष्कर्षमा पुगिसकेको छैन ।

यसैले पनि प्रधानमन्त्री ओलीको कमजोरीलाई समाएर मधेसप्रति झुकाउने रणनीतिमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लागिपरेका छन् । ओली नेतृत्वको सरकारले संविधान संशोधन नगरे सडक आन्दोलनमा जान प्रदेश २ को सरकारको सहयात्री राजपा एकापट्टि समाउने र सरकारलाई संविधान संशोधनमा झुकाउने यादवको अहिलेको रणनीति केवल बार्गेनिङका लागि मात्र भएको मधेसीवादी दलकै नेताहरूको भनाइ छ ।

सके संविधान संशोधन गराउने र नसके राष्ट्रिय जनता पार्टीसँग मिलेर मधेस आन्दोलन चर्काउने यादवको तयारी छ । संविधानको विषयमा सहमति नभए नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा छ । सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरूको योजना छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरणसँगै शीर्ष तहमा भएका छलफलपछि पार्टी सरकार छाड्ने मुडमा पुगेको हो । नेकपा नेतृत्वको सरकारले आउँदो चार वर्षसम्म संविधान संशोधन नगर्ने समाजवादीका नेताहरूको भनाइ छ । संविधान संशोधन नभए सर्त राखेर सरकारबाट बाहिरने गरी एकता गरेको समाजवादी पार्टीले पछिल्लो समयमा अहिलेसम्म विरोधी रहेको राजपासँग फेरि नयाँ साँठगाँठ गर्न लागेको छ ।

गत वर्ष २२ फागुनमा राजपाले सरकारको समर्थन फिर्ता लिएपछि तत्कालीन फोरम दबाबमा परेको थियो । राजपाले २७ फागुन २०७४ मा सरकारलाई ससर्त समर्थन गरेको थियो । तर, तत्कालीन फोरम अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई २२ पुसमा ११ बुँदे स्मरणपत्र बुझाए पनि अहिलेसम्म सुनुवाइ भएको छैन ।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले ससफो नेपाल देशका समाजवादी, लोकतान्त्रिक तथा प्रगतिशील शक्ति भएको बताएका छन् । नेता श्रेष्ठले कांग्रेस र कम्युनिस्टले लिएको बाटोबाट देशमा समृद्धि नआउने कुरा पटकपटक प्रमाणित भइसकेको बताउँदै इतिहासमा चीन र भारतबीचको व्यापारिक केन्द्र रहेको र बाह्य मुलुकका जनतालाई काम दिन सक्ने हैसियत भएको नेपाल अहिले विदेशमा कामदार निर्यात गरेर गर्व गर्नुपर्ने अवस्थामा पु¥याएको बताए ।

उनले अब देशको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि संघीय समाजवादी सिद्धान्त अँगाल्नुपर्ने बताए । उनले आफ्नो पार्टी कांग्रेस कम्युनिस्टजस्तो एकल जातीय नभई हिमाल, पहाड र तराई मधेसलाई समेट्न सक्ने समानुपातिक समावेशी प्रतिनिधित्व भएको एक मात्र राष्ट्रिय चरित्रको पार्टी भएको बताउँदै अब नयाँ युगको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरे ।

उनले नागार्जुन नगरपालिकालाई संघीय किल्ला बनाउन तथा आगामी निर्वाचनमा पहिलो शक्ति बन्नका लागि अहिलेदेखि संगठन विस्तारको कामलाई तीव्रताका साथ अगाडि बढाउन जोड दिए ।
राजपा नेपाल र फोरम नेपालको बीचमा एकीकरणका लागि पहिलेदेखि छलफल हुँदै आएको हो ।

सरकार छाड्ने विषयमा सहमति भए राजपा नेपाल र समाजवादी पार्र्टी एकता हुने भन्ने राजपाको अडानलाई पनि उपेन्द्र यादवले समानान्तर रूपमा राखेका छन् । दुई दलको बीचमा एकीकरणका लागि दोस्रो तहका नेताहरूको बीचमा पनि पटक–पटक छलफल भइसकेको छ । तर, राजपा नेपालभित्र आन्तरिक कुरा नमिलेकाले अहिले वार्ता र छलफल हाल स्थगित रहेको छ । यादवको चाहनालाई लिएर भारतले पनि एकताको प्रयास गरिरहेको छ ।

भारतले राजपा नेपाल र फोरम नेपालबीच एकीकरण होस् भन्ने नै रहेको छ । मधेसमा एउटा वैकल्पिक शक्ति निर्माण गर्नका लागि भारतले दुई दलबीच एकीकरण गराउन चाहेको छ । भदौ २४ गते भारतबाट फर्केका उपेन्द्र यादव असोज १६ गते यसबारे महन्थ ठाकुरकै निवासमा गएर छलफल गरेका थिए । सो भेटमा पार्टी एकीकरणका लागि तयार रहेको बताएका थिए ।

अहिलेसम्म एकता हुन नसकेको पार्टीमा राजपाले आन्दोलनमा आउनुपर्ने सर्त अगाडि सारेको छ । पार्टी एकीकरणका लागि वार्ता टोली गठन गर्ने भनिए पनि अहिलेसम्म भएको छैन । यादवले अहिले सरकार छाड्ने विषयलाई बार्गेनिङको विषय बनाएका छन् ।

सत्ता मोहमा भएका यादव र पार्टी एकीकरणपछि संयोजक भएको डा. बाबुराम भट्टराईका बीचमा पनि एकमत छैन । उनी सरकारसँग बार्गेनिङ गर्न चहिरहेका छन् भने भट्टराई सरकार छोडेर सडकमा जानुपर्ने पक्षमा देखिएका छन् ।

संयोजक भट्टराई र राजपाबीचमा कुरा मिले पनि उपेन्द्रको दोहोरो चरित्रले कुरा मिल्न सकेको छैन भने यादवले अहिले दुई नाउमा खुट्टा राखिरहेका छन् । उनको सरकारप्रतिको मोहलाई उनकै पार्टीका कार्यकर्ताले पनि मन पराएका छैनन् ।