देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतीयलाई ठगेको आरोपमा नेपाली युवती पक्राउ

देशान्तर

काठमाडौँ ।  भारतको मुम्बईका एक भारतीयलाई ठगेको आरोपमा एक नेपाली युवती काठमाडौंमा पक्राउ परेको भारतीय पत्रिका बिजनेश स्ट्याण्डर्डको अनलाइन संस्करणमा जनाइएको छ । सो प्रकरणमा पक्राउ पर्नेमा नेपालको महोत्तरी जिल्लाकी एक २१ वर्षीया युवती भएको समाचारमा जनाइएको छ । ती युवतीले फेसबुकबाट साथी बनेर एक भारतीयसँग २३ लाख रुपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

यसरी ठगिएका भनिएका भारतीयको नाम श्रीपाल जैन बताइएको छ । उनी भारतको महाराष्ट्रका ३८ वर्षीय व्यक्ति हुन् । जैनसँग नेपाली युवती फेसबुकबाट साथी बनेको र नेपालको धनी परिवारको सदस्य भएको दाबी गरेको काठमाडौंको महानगरीय प्रहरीलाई उद्धृत गर्दै सो समाचारमा जनाइएको छ । त्यसपछि ती महिलाले आफूले पारिवारिक व्यापार जैनलाई हस्तान्तरण गर्न चाहेको र बिजनेश योजना बारेमा छलफल गर्न नेपालमा बोलाएको बताइएको छ ।

उनका बाबुले पठाएको सामानको भन्सार क्लियरेन्सका लागि भन्दै ती युवतीले जैनसँग २३ लाख रुपैयाँ मागेकी थिइन् । सो रकम लिएर उनी बेपत्ता भएपछि जैनले प्रहरीमा उजुरी हालेका थिए । सोही उजुरीपछि प्रहरीले ती युवतीको काठमाडौंमा भएको भाडाको कोठामा छापा मारेको थियो । प्रहरीले करिब २० लाख रुपैयाँ नगद र केही कागजात फेला पारेको जनाइएको छ ।