देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रामेछापमा वडा अध्यक्षले फेसबुकमा सूचना राखेको भन्दै पिटे इन्जिनियर

देशान्तर

काठमाडौँ । सुनापति गाउँपालिका २ डिमिपोखरीका वडाअध्यक्ष कमल केसीले वडामा कार्यरत सवईन्जिनियर हिमाल खड्कामाथि हातपात गरेका छन् ।

भुकम्प प्रभावितले पुनःनिर्माणका लागि पाएको दोस्रो किस्ता र तेस्रो किस्ताको निकासा सम्बन्धी सूचना फेसबुकमा राखेको भन्दै वडा अध्यक्ष केसीले ईन्जिनियर खड्कालाई आइतबार हातपात गरेका हुन् ।

बिना गल्ति जनप्रतिनिधिले इन्जिनियर खड्कालाई अपशब्द प्रयोग गर्दै निलडाम हुनेगरी कुटपिट गरेका थिए । यसरी जनप्रतिनिधिबाट नै ईन्जिनियर कुटिएकोमा कानुनी कारबाहीको माग गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक संजाल रामेछापले सोमबार एक विज्ञप्ति जारी गरेको छ ।

यसअघि पनि मापदण्ड पूरा नभएको घर पास गराउन दबाव दिने, थर्काउने गरेको र यस प्रकारको गतिविधि पटकपटक गर्दासमेत जनप्रतिनिधि भएकै कारण कानुनी कारबाही नहुँदा केसीको झन् मनोबल बढेको हुँदा केसीलाई कानुनी कारबाही नभएसम्म प्राविधिकहरुले आफ्नो कामकाज ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुनापतिमा सोमबारदेखि नै काम ठप्प पारिएको जनाइएको छ भने अबको एकसाता भित्र कानुनी कारबाही नभए जिल्ला भरिनै कामकाज ठप्प पार्ने संजालले जनाएको छ ।
बझाङ जिल्ला खप्तडछान्ना गाउँपालीका ६ निवासी इन्जिनियर खड्का २०७२ सालको विनाशकारी भुकम्प पछिको निजी निवास पुनर्निर्माणको काममा ३ बर्षदेखि रामेछाप जिल्लाको सुनापति २ डिमिपोखरीमा सवईन्जिनियरको रुपमा कार्यरत छन् ।

खड्काले आफू वडामै बसेर ईमान्दारपुर्वक कामसम्पादन गर्दा गर्दै पनि अध्यक्ष केसीले पटक पटक यस्तो किसिमको गतिविधि गरेको र काम गर्न असजिलो भएको बताए ।