सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिकाको मार्मिङ चाकुमा बाढीले एक घर र पुल बगाएको छ।
स्थानीयका अनुसार शनिबार राति भएको वर्षापछि स्थानीय हृयाङ्ले खोलामा उर्लिएको बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्ले गाउँस्थित एक घर र चाकु बजार वारपार गर्ने साँघु पुल बगाएको हो।
घटनाबारे प्रहरीलाई आइतबार बिहान जानकारी आएको र वास्तविकता बुझ्न बाह्रबिसेस्थित इलाका प्रहरी कार्यालका प्रमुख प्रहरी निरीक्षक यादव थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल गइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले नेपालखबरलाई जानकारी दियो।
बाढीका कारण स्थानीयको भागाभाग भएको थियो। त्रासले रातभर सुत्न नसकेको स्थानीयले बताएका छन्।
मध्य भोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थल, टावर, एक्जाभेटर, टिप्पपर जस्ता साधन, माथिल्लो भोटेकोसीको बाधस्थल संरचनादेखि शिवश्री हाइड्रो पावर, चाकु हाइड्रो अधिकांश संरचना बाढीले ध्वस्त पारेको छ।
चाकु, दसकिलोदेखि सीमावर्ती क्षेत्रसम्म बाढीको त्रास फैलिएपछि कतिपय सामग्री बाँधेर राजधानी फर्किने भएको स्थानीय होमनाथ ढकालले बताएका छन्।
०७१ मा जुरेपहिरो, ०७२ मा भूकम्प, २०७३ असार २१ मा भोटेकोसी बाढी तथा बर्खैपिच्छे जाने पहिराका कारण सिन्धुपाल्चोकका बासिन्दा त्रसित छन्।
भेलले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत् आयोजनामा कार्यरत २ कर्मचारी बेपत्ता भएको आशंका गरिएको छ।
यसबारे बाह्रबिसेबाट खटिएको टोलीले घटनास्थल पुगेपछि वास्तविकता पत्ता लगाउने प्रहरीले जनाएको छ।





प्रतिक्रिया