देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोरखामा ओढारमा लुकाइराखेको १२ किलो सुन बरामद

देशान्तर

गोरखा । गोरखाको धार्चे गाउँपालिका -३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १२ ढिक्का (१२ किलोग्राम) सुन प्रहरीले बिहीबार बरामद गरेको हो ।

गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले ओढारमा लुकाएको सुन बरामद भएको तर त्यसको परिमाण यकीन नभएको बताए ।

काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमललाई पक्राउ गरेर ओढारमा ल्याएपछि उनले सुन लुकाएको ठाउँ देखाएका थिए । प्रहरीका अनुसार ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको र त्यसभित्र बोरामा सुन राखिएको थियो । सुन दुईवटा झोलामा थियो ।

असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखा को उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको थियो । त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए ।

उनलाई आक्रमण गर्न खोज्ने ४ जना भने पक्राउ परेका थिए । । पक्राउ परेकाहरुले धनकमलले सुन ल्याएको प्रहरीसमक्ष बताएका थिए । त्यसपछि खोजी गरेको प्रहरीले धनकमललाई बुधबार काठमाडौंमा पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेर सुन लुकाएको ठाउँमा ल्याइएको प्रहरीले जनाएको छ ।