देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापतिका कारण कांग्रेसमा हराउदै सहमतिको संस्कार

देशान्तर

काठमाडौँ । पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमतिको सम्भावना टर्दै गएको छ । उनीहरु आफ्ना अडानमा रहदै एक अर्कोको आरोप प्रत्यारोपमा उत्रिएका छन ।

लगातारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा पाँच वर्षभित्र महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई खलनायकको रुपमा हेर्न थालिएको भनदै देउवाले आक्रोस पोखेका छन् ।

कार्यतालिकाकै विवादले बुधबार छलफलका लागि तय भएका अन्य एजेन्डा प्रवेश भएनन् । बैठककै सुरुमै पौडेलले कार्यतालिका नल्याएसम्म अन्य एजेन्डामाथिको छलफलमा आफूहरू सहभागी नहुने बताएका थिए ।

चौधवटा एजेन्डा तय गरी कांग्रेस बैठक असार २२ देखि चल्दै आएको छ । तीमध्ये पार्टीको नियमावलीको मस्यौदा, पार्टीको तल्ला तहका अन्तरिम संरचना निर्माण र महाधिवेशनको एजेन्डामाथि मंगलबार छलफल सकिएको थियो । अन्तरिम संरचना निर्माण र महाधिवेशनको तालिका नआएको भन्दै पौडेलले अन्य एजेन्डाको छलफलमा सहभागी नहुने बताएपछि बैठक अघि बढ्न सकेन ।

बैठकमा पौडेलले सभापति देउवा अधिवेशन नगराउने खेलमा अघि बढेको भन्दै रोष प्रकट गरेका थिए । ‘समय घर्काउँदै जाने र समय बितिसकेपछि यही कार्यसमितिलाई मानौं भन्ने परिस्थिति निर्माण गरेर महाधिवेशन नगराउने खेलमा सभापति लाग्नुभएको छ,’ पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संकटमा र्पुयाएर पार्टीलाई बचाउन भन्दै यही समितिलाई निर्वा्चित भनी निर्वाचन आयोगमा बुझाउने दिन ल्याउन खोजिएको छ ।’

लगत्तै झोक्किँदै देउवाले पौडेलको प्रतिवाद गरे । ‘मलाई खालि शंका गर्ने ? चार वर्षमा अधिवेशन गर्न अब सम्भव छैन । तर, पाँच वर्ष कटाउने पक्षमा म छैन,’ देउवाको भनाइ थियो, ‘मलाई भिलेन जस्तो बनाउने ? अरू सबै हिरो हुने ? मैले महाधिवेशन गराउन नचाहेको छु र ? सभापति देउवाले एक वर्षको कार्यकाल बढाएर २०७७ फागुनसम्ममा महाधिवेशन गर्ने बताएका थिए ।

दुई नेताको आरोप–प्रत्यारोपपछि उपसभापति विमलेन्द्र निधिले पुस मसान्तसम्ममा पार्टीका तल्ला तहका संक्रमणकालीन संरचना निर्माण गर्ने प्रस्ताव गरेका थिए । तर, पौडेलले असोजभित्र संक्रमणकालीन संरचना निर्माण भइसक्नुपर्ने अडान राखे । निधिले अन्तरिम संरचना निर्माणपछि मात्रै केन्द्रीय महाधिवेशनको कार्यतालिका ल्याउन सकिने बताए ।

पौडेलले भने केन्द्रीय महाधिवेशन कहिले गर्ने भन्ने मोटोमोटी तालिकासमेत ल्याइनुपर्ने बताए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति र पदाधिकारीको यस्तै कार्यशैलीबाट पाँच वर्षमा पनि महाधिवेशन हुन नसक्ने बताए ।

‘महाधिवेशन भएन भने सभापति असफल हुनुहुन्छ, पदाधिकारी असफल हुन्छन्,’ सिटौलाले भने, ‘त्यतिबेला हामीले प्रश्न गर्दा तपाईंले के जवाफ दिनुहुन्छ ?’ उनले पुस मसान्तभित्र अन्तरिम संरचना निर्माण गर्ने भनेर मात्रै नहुने भन्दै कार्ययोजनासहितको औपचारिक प्रस्ताव प्रस्तुतगर्नुपर्ने बताए ।

राज्य पुनःसंरचनाअनुसार कांग्रेसमा तल्ला तहका संरचना छैनन् । पुराना संरचना राज्य पुनःसंरचना हुँदा वडा, गाउँरनगरपालिका र निर्वाचन क्षेत्र समायोजनका कारण भताभुंग छन् । वडा र संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति नबनेसम्म पार्टीको क्रियाशील सदस्यताको वितरण र नवीकरण हुन सक्दैन । सदस्यता नवीकरण र वितरण नभएसम्म महाधिवेशनको प्रक्रिया अघि बढ्न सक्दैन ।

यी सबै काममा ढिलाइ गरेर महाधिवेशन टार्न खोजिएको आशंका पौडेलले गर्दै आएका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति देउवा महाधिवेशन चाँडै गर्ने पक्षमै छन् । ‘बैठक चाँडै सकौं । अन्तरिम संरचना चाँडै निर्माण गरी महाधिवेशन पनि चाँडै गरौंभन्ने प्रस्ताव सभापतिको थियो,’ शर्माले भने ।

बैठकमा अन्तरिम संरचना निर्माण गर्दा तत्कालीन फोरम लोकतान्त्रिकसहित अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्तालाई समायोजन गर्ने कि नगर्ने भन्ने विवाद पनि उब्जेको थियो । केन्द्रीय सदस्य महेश आचार्यले पार्टी विधानले पूर्वप्रतिनिधिहरूबाटै अन्तरिम संरचना निर्माणको व्यवस्था गरेकाले १४ औं महाधिवेशनबाट मात्रै समायोजन हुनुपर्ने बताएका थिए ।