शुरती पाण्डेले कक्षा–१२ को परीक्षामा व्यवस्थापन शंकायतर्फ उत्कृष्ट जीपीए ल्याएको उनले अध्ययन गरेको प्रतिभा माविले दाबी गरेको छ ।
शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले पाण्डेले ल्याएको ३.९२ जीपीए नेपालमै उत्कृष्ट जीपीए भएको जिकिर गरे ।
‘औपचारिक प्रतिस्पर्धा र आधिकारिक घोषणा नभएपनि सबै ठाउँको नतिजा हेर्दा यो नै उत्कृष्ट रह्यो’–प्राचार्य पराजुलीले भने ।
यो वर्ष नेपालभरबाट तीनजना विद्यार्थीलेमात्रै ३.९२ जीपीए ल्याउन सफल भएको उनले बताए ।
धादिङको आगिङचोकमा सामान्य परिवारमा जन्मिएकी पाण्डेले विद्यालय, शिक्षक र आफ्नो मिहिनेतका कारण यो नतिजा ल्याउन सफल भएको बताइन् ।
सानै उमेरमा बुवा गुमाएकी पाण्डे आफ्नो प्रेरणाको स्रोत आमा सम्झना पाण्डे भएको बताउँछिन् ।
‘आमाको हौसला र मिहिनेत देख्दा मलाई केही गरी देखाउनुपर्छ भन्ने लागेर नै दैनिक ४ घन्टामात्र सुत्थे’–उनले भनिन् ।
जन्मिदैदेखि कोही पनि जान्ने नहुने तर उसले पाएको वातावरण र मिहिनेतले नै उत्कृष्ट बनाउने उनको भनाइ छ ।
उनको लक्ष्य असर चार्टर एकाउन्टेन्ट बनेर देशको सेवा गर्ने रहेको छ ।
उनको लक्ष्यलाई पूरा गर्न प्रतिभा मावि र अटो वेजले आर्थिक सहयोगसमेत प्रदान गर्ने भएका छन् ।
विद्यालयले एक लाख रुपैयाँ नगद सहयोग र उनका भाइ सचितराज पाण्डेलाई १२ कक्षासम्म निःशुल्क अध्ययन गराउने विद्यालयका अध्यक्ष नारायण पौडेलले पत्रकार सम्मेलनमा घोषणा गरे ।
अटो वेज प्रालिका सन्चालकसमेत रहेका उनले प्रालिको तर्फबाट ५० हजार रुपैयाँ सहयोगको घोषणासमेत गरे ।
वि.सं. २०४३ सालमा स्थापना भएको विद्यालयले विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टमा पढाइ सन्चालन गरेको छ ।
विद्यालय सन्चालक समितिका सदस्य एवं शिक्षक विजयबहादुर थापाले पोखरेली विद्यार्थीहरुको मुख्य आकर्षण प्रतिभा बन्न सफल भएको दाबी गरे ।





प्रतिक्रिया