बागलुङ — गतवर्ष पहिरोले बडिगाड खोला थुनिएर बनेकाे तुरतुरे ताल आइतबार राति फुटेको छ । ताल फुटेकाे पानीले मध्यपहाडी लोकमार्ग समेत बगाएको छ । बडिगाड गाउँपालिकाको भीमगिठेमा सडक बगाएपछि पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको सम्पर्क टुटेको छ। यो सडक भएर हरेक दिन दर्जनौं बस, ट्रक, जिप र अन्य सवारी चल्थे।
पैदल यात्री समेत हिड्न नमिल्ने गरी पहिरो खसेको प्रहरी नायब उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए। ताल फुटे पनि पानी भने एकैपटक नखोलिएकोले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएन। एक किलोमिटर लामो ताल फुटेपछि पानीको बहावले सडक बगाएको हो।
यो सडक नभएपछि पैदल यात्री समेत दर्लिङको मालारानी भन्ने स्थानबाट कम्तिमा ३ घण्टा घुमाउरो बाटो हिड्न बाध्य भएका छन्। सोमबार बिहानै देखि सयौं मानिस घुमाउरो बाटो प्रयोग गरिरहेका छन्। उक्त बाटो पनि उत्तिकै जोखिमको छ। सडक अबरोध भएपछि बिरामी र बुढाबुढीलाई समस्या परेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए
।
।





प्रतिक्रिया