देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजबाट सरकारका ३ सचिवले पाए अवकास

देशान्तर

 सरकारका ३ सचिवले आजबाट अवकास पाउने भएका छन् । निजामती सेवाबाट बिदा हुन लागेका सचिवहरूमा अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्साल छन् ।

तीनै जनाले निजामती सेवामा तोकिएको उमेर हदका कारण अनिवार्य अवकास पाउन लागेका हुन् । विशिष्ट श्रेणीमा पदोन्नति भएको ५ वर्ष पूरा गरेपछि सेवाबाट अनिवार्य अवकास हुने कानुनी व्यवस्था छ । आज अवकास हुन लागेका तीन जनाले नै ०७१ साउनमा सचिवमा पदोन्नति पाएका थिए ।

अवकास पाउन लागेका कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शर्मा खानेपानी मन्त्रालयका सचिव हुन् । अब यी दुवै मन्त्रालयमा सचिव पद रिक्त हुने भएका छन् ।

अर्का वरिष्ठ सचिव विष्णु लम्साल सचिवबाट बिदा भए पनि उनले अवकासको मुखैमा अर्को जिम्मेवारी पाएका छन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशकमा नियुक्ति गरेको हो । त्यहाँ उनको कार्यकाल २ वर्षको हुनेछ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामै अन्य २ सचिवले पनि अवकास पाउँदैछन् । साउनमै अवकास पाउनेमा युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटा र विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बीसी छन् । दुवै सचिवले ५८ वर्षे उमेर हदका कारण बिदा पाउन लागेका हुन् ।