देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रशिक्षणसँगै उपनिर्वाचनको तयारीमा नेपाली कांग्रेस

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम सुरु गरेको छ । प्रतिष्ठानले पार्टीलाई जागरूक बनाउन यही साउन ३१ देखि प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।

भदौ ६ गतेसम्म चल्ने पहिलो चरणको प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रूपन्देही, भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन हुनेछ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले साउन ३१ र ३२ गते पोखरा, भदौ २ र ३ गते रूपन्देही र भदौ ५ र ६ गते सुर्खेतमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रशिक्षणमा कांग्रेसका सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिस्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासँग सम्पर्क र संवादजस्ता कुरालाई समावेश गरिएको सचिव आचार्यले बताए ।

प्रतिष्ठानका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसका सदस्यलाई जनतासँग आत्मीय सम्पर्क होस् भन्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । प्रशिक्षण पार्टी सभापति, वरिष्ठ नेता पदाधिकारी तथा केन्द्रीय नेताको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसले उपनिर्वाचनको तयारी गर्ने निर्णय पनि गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको काग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका बारेमा छलफल गर्दै यसको तयारीमा जुट्ने निर्णय गरेको हो ।

बैठकमा उपनिर्वाचनका बारेमा निर्वाचन आयोगमा भएको छलफलका बारेमा प्रतिनिधिहरूले जानकारी गराएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

त्यस्तै बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत गरिएको छ । समितिका संयोजक भीष्मराज आङ्दाङबेले उक्त प्रतिवेदन पेस गरेको र त्यसमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेको पौडेलले जानकारी दिए । अनुशासन समितिको प्रतिवेदन माथिको छलफल सकिएपछि अर्को बैठकमा अन्य विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

गत आइतबार बसेको बैठकले सहमतिकै आधारमा संघीय तहहरूमा अन्तरिम संरचना बनाउने निर्णय गरेको छ । बैठकले अन्तरिम संरचना निर्माणबारे निर्देशिका पास गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक छ ।

विधानको धारा ५०(५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ । यस निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनमा पेस गरी अनुमोदन गराइनेछ ।’

कांग्रेसले देश संघीयतामा गएको लामो समयपछि संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, स्थानीय तह र वडा तहमा अन्तरिम संरचना निर्माण गर्न थालेको हो । निर्देशिका अनुसार अहिले एक जना मात्र क्षेत्रीय सभापति छन् भने उनी स्वतः सभापति हुनेछन्, यदि दुई वा सोभन्दा बढी क्षेत्रीय सभापति छन् भने कार्यकालको वरिष्ठताका आधारमा चयन हुनेछ ।

त्यस्तै स्थानीय तहको प्रमुख, केन्द्रका आधारमा छनोट हुनेछ । जुन स्थानमा केन्द्र छ, त्यही तत्कालीन गाविस वा नगरपालिकाका प्रमुख अन्तरिम संरचनाको प्रमुख हुनेछ ।

यसैगरी वडाको हकमा पुरानो गाविस, जेष्ठताका आधारमा अन्तरिम संरचनाको प्रमुख चयन गर्ने सहमति भएको छ । आजको बैठकले आगामी भदौ २० सम्म अन्तरिम संरचना बनाइसक्ने निर्णय गरेको समेत बताइएको छ ।