देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान जारी भएको चार वर्ष पूरा, विविध कार्यक्रम गरी मनाईँदै

देशान्तर

काठमाण्डौं । संविधानसभा मार्फत संविधान जारी भएको चार वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो । संविधान जारी भएको दिनको स्मरणमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाईँदै छ ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति हुनेछ । संविधानसभाले दुई कार्यकालमा संविधान बनाएको हो ।

अझै पनि यो संविधानमा असहमति जनाउने वा संशोधनको माग गर्नेहरु छन् । उनीहरुले लोकतान्त्रिक व्यवस्थालाई पूर्णरुपले सहभागिता मूलक बनाउनका लागि संविधान संशोधन गर्नु पर्ने दाबी गर्दै आएका छन् ।

संविधान दिवसमा राष्ट्रपति–उपराष्ट्रपतिसहितको शुभकामना:

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताउनु भएको छ । संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको बताउनुभएको छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनताको स्वतन्त्रता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य भएको बताउनु भएको छ ।

यस्तै नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक विज्ञप्तिमार्फत दिवसले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले नेपाली काङ्ग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

यसैगरी सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगातले शुभकामना व्यक्त गर्नुभएको छ ।