काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले डाकेको बैठकमा भारत र पाकिस्तानका मन्त्रीहरुले एक अर्कालाई बहिष्कार गरेका छन्।
सार्कलाई भन्दा बिम्स्टेकलाई बढी प्राथमकिता दिइरहेको भारतका विदेशमन्त्री एस जयशंकर नेपालले बोलाएको बैठकमा सहभागी भए। तर कश्मीरको मुद्दालाई दुई देशबीच चुलिएको तनाव सार्क मन्त्रीस्तरीय बैठकमा पनि छताछुल्ल भयो। भारतले पाकिस्तान सदस्य रहेको सार्कलाई ‘मिनिमाइज’ गर्दै बिम्स्टेकलाई बढावा दिइरहेको अवस्थामा नेपालले बोलाएको बैठकमा पनि दुई राष्ट्रबीच शत्रुतापूर्ण सम्बन्ध देखिएको हो।
कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबीच जारी तनाव सार्कको विदेश मन्त्रीस्तरीय बैठकमा पनि देखिएको हो। न्युयोर्कमा आयोजित विदेशमन्त्रीहरुको बैठकमा पाकिस्तानी विदेशमन्त्रीले भारतीय समकक्षीलाई बहिस्कार गरेका हुन्। भारतीय विदेशमन्त्री एस जयशंकरले मन्तव्य राखिरहँदा पाकिस्तानका विदेशमन्त्री महमुद कुरैशी बैठक कक्षमा प्रवेश नै गरेनन्।
बैठकमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजलले कुरैशीको प्रतिनिधित्व गरेका थिए। उनले नै भारतीय विदेशमन्त्री जयशंकरलाई कुरैशीले बैठक बहिस्कार गरेको जानकारी दिएका हुन्। अगष्ट ५ मा भारतले कश्मीरका लागि विशेष व्यवस्था गरिएको संविधानको ३७० खारेज गरेपछि भारत र पाकिस्तानका विदेशमन्त्रीबीच भएको पहिलो भेटघाटमै तनावको माहोल देखिएको हो।





प्रतिक्रिया