देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मदिरा भट्टीको खाल्डोमा डुबेर एकै घरका चारसहित पाँच जनाको मृत्यु

देशान्तर

बारा । बारामा मदिरा भट्टीको खाल्डोमा डुबेर पाँच जनाको मृत्यु भएको छ। जिल्लाको फेटा गाउँपालिका–४ बतरा गाउँमा मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर एकै घरका चारसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भट्टी सञ्चालक ४० वर्षीय जोगा मुखिया, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालकुमारी देबी र करिब ५० वर्षीय एक भारतीय नागरिक रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।

बुधबार राति करिब ८ बजे पाँचै जना करिब पाँच फिट गहिरो एउटै खाल्डोमा डुबेका हुन्। पाँचै जनाको खाल्डोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनको विषयमा स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। उनीहरुको मृत्यु कसरी भयो खुल्न नसकेको एसपी खनालले जानकारी दिए।

खाल्डोमा रहेको पानीमा प्रवाह भएको करेन्टको कारण उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

घटनाको अनुसन्धानमा डिएसपी रञ्जितसिंह राठोर नेतृत्वको टोली खटिएको छ।