हुम्ला । हुम्ला बासीले एसपालिको दशैं चामल नभएपछि भातविना दशैं मनाउन बाध्य भएका छन् । दसैंको मुखमा दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दसैं खल्लो हुने भएको हो ।
जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छप्रेला बिक्री केन्द्र र यो वर्ष खार्पुनाथ गाउँपालिकामा स्थापना गरिएको नयाँ बिक्री केन्द्रमा चामलको अभाव रहेको नेपाल खाद्य संस्थान शाखा हुम्लाले जनाएको छ ।
चालु आर्थिक वर्षमा संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेका कारण जिल्लाको दक्षिणी क्षेत्रमा रहेका यी पाँच गाउँपालिकामा चामल नपुगेको जिल्ला संस्थान प्रमुख रामबहादुर विष्टले बताए । नेपालीको महान् पर्व दसैंमा चामल नपुगे पनि तिहारसम्ममा पुर्याउने लक्ष्य लिइएको उहाँले जानकारी दिए ।
अनुसार स्थानीय सरकारले स्थल मार्गबाट चामल ढुवानी गर्ने भने पनि नेपाल खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गर्दा यो दशैँमा चामल नपुगेको हो ।
यो वर्ष चामल नहुँदा दसैं खल्लो हुने निश्चित भएको स्थानीयवासी भक्तराज ऐडीले गुनासो गरे । अदानुचलीमा रहेको श्रीनगर डिपो र सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपोमा कर्मचारी भए पनि चामल नहुँदा त्यहाँका स्थानीयवासीले यो वर्षको दशैँ भातविना मनाउने भएका छन् ।
सिमकोटमा १६ सय क्विन्टल मौज्दात
सधैँ दसैंमा चामलको अभाव हुने सदरमुकाम सिमकोटमा यो वर्ष खाद्यान्न मौजात प्रशस्त रहेको छ । काठमाडौँ केरुङ हुँदै सिमकोट पुगेको ६०० क्विन्टल र स्थानीयलाई वितरण गरी बाँकी रहेको एक हजार क्विन्टल चामल गरी १६ सय क्विन्टल मौज्दात रहेको खाद्य संस्थान प्रमुख विष्टले बताए ।





प्रतिक्रिया