काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताएकी छन् ।
राष्ट्रपति भण्डारीले सन्देशमा विजयादशमी पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।
यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
विजयादशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो संविधानले सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको स्मरण गराएका छन् ।
हाम्रो देशमा मनाइने सबै चाडपर्वले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आईरहेका छन् भन्दै उपराष्ट्रपतिले सन्देशमा विजयादशमीकोे माध्यामबाट त्यो अक्षुण्ण रहने र अझ उन्नत हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।





प्रतिक्रिया