देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनियाँ राष्ट्रपति ‘सी’को भ्रमणका लागि सुरक्षा व्यवस्था मिलाइयो

देशान्तर

काठमाण्डौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणका लागि सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्य्विधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी ले यही असोज २५ र २६ गते नेपालको दुई दिने राजकीय भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उनको सुरक्षामा काठमाण्डौको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति जिनपिङसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नेछन् । तेइस वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । भ्रमणका क्रममा महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ ।

तयारी तिब्र
राष्ट्रपति सी ले प्रयोग गर्ने सडकहरु नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्बिर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ । ठाउँठाउमा स्वागतद्वार बनाउने, सडक पुनःनिर्माणलाई तीव्रता दिने, फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्र रुपमा भइरहको छ ।