देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनआरएनएमा कुल आचार्यको प्यानल घोषणा, सहमतिका लागि डा. पौडेलको त्याग

देशान्तर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आधिकारिक रुपमा आफ्नो टिमको घोषणा गरेका छन् ।

काठमाडौँमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका हुन्।

आचार्य प्यानललाई राखेर घोषणा गरिएको टिम निर्माणमा अमेरिकाका डा. केशव पौडेलले महासचिव पदको दाबी छाडेर सहयोग गरेका छन् । डा. पौडेलले महासचिवमा बेल्जियम निवासी जानकी गुरुङको नाममा सहमति गरेर दाबी छाडेका हुन् । अब डा. पौडेल आचार्यको टिमबाट उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।

अमेरिकाका डा. पौडेलले साथीभाइको सल्लाह बमोजिम महासचिवबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन सहमत भएको बताए ।

‘सँस्था भन्दा पद ठूलो वा सानो हुँदैन, सँस्था सधैं सर्वोच्च हुन्छ तर व्यक्ति, पद गौण हुन्छ अतः मैले विवाद भन्दा सम्वाद रोजेँ र विमति भन्दा सहमति खोजें’, डा. पौडेलले भने । उनले महासचिवको लागि जुन प्रतिबद्धता व्यक्त गर्नु भएको थियो तर त्यसमा एक ईन्च पनि तलमाथि नहुने उपाध्यक्षमा विजयी भएपछि त्यसलाई कार्यान्वयन गरेरै छोड्ने वचनवद्धता पनि प्रकट गरे ।

आचार्य समूहबाट उपाध्यक्षमा डा। पौडेलसँगै, मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), महिला उपाध्यक्षमा रबिना थापा (अमेरिका)ले उम्मेदवारी दिने भएका छन्। यस्तै वर्तमान सह–कोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी आचार्यले अन्य इच्छुक उम्मेदवारलाई समेटेर अघि बढ्ने बताए। आँफूले प्रजातान्त्रिक समूह नभइ सिङ्गो एनआरएनको समूह बनाएको दावी गर्दै आचार्यले आफ्नो प्यानलको बचाउ गरे।

महाधिबेशन प्रतिनिधिको नाम फेरबेदल भएको गुनासो आएको बताउँदै उनले यसको छानबिन हुनुपर्ने माग राखेका छन्।