काठमाडौं, नेपालले बंगलादेशमा निर्यात गर्दा नेपाली सामानमा लाग्ने कर घटाउन बंगलादेशलाई आग्रह गरेको छ।
नेपाल–बंगलादेश प्राविधिक समिति (व्यापार) को चौथो बैठकमा नेपालले बंगलादेशलाई निर्यातित नेपाली सामानमा लाग्ने कर घटाउन आग्रह गरेको हो।
नेपालबाट बंगलादेशमा निर्यात हुने ठूलो अलैँची, अदुवा, अम्रिसो लगायतका नेपाली कृषिजन्य तथा औद्योगिक वस्तुहरूमा भन्सारको अतिरिक्त विभिन्न प्रकारका उच्च शुल्क लाग्ने गरेको छ।
त्यसले नेपाली वस्तुहरू बंगलादेशी बजारमा प्रतिस्पर्धा गर्न नसकी नेपालको निर्यातमा ठूलो असर परेकोले भन्सार दर घटाउनुका साथै अतिरिक्त शुल्क हटाई सहजता प्रदान गर्न बंगलादेश पक्षलाई अनुरोध गरेको हो।
बैठकमा नेपालले नेपाली धागो निर्वाध रूपमा बङ्गलादेशमा सहज पहुँचका लागि आवश्यक व्यवस्था मिलाउन समेत बंगलादेशी पक्षलाई अनुरोध गरेको छ। नेपाली विद्यार्थीले बंगलादेशमा प्रवेश गर्दा भोग्नु परेको भिषा समस्याको बारेमा पनि नेपालले बंगलादेशी पक्षलाई राखेको छ। उक्त विषयलाई बंगलादेश पक्षले सकारात्मक रूपमा लिइ समाधानका लागि पहल गर्ने जानकारी दिएको छ। बैठकमा दुई देशबीचमा सडक, रेल र आन्तरिक जल र हवाई मार्ग मार्फत पारवहन तथा कनेक्टीभिटीको प्रवद्र्धन गर्न आपसमा सहकार्य गर्ने बताइएको छ।





प्रतिक्रिया