काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारमाथि दाबी विरोधका लागि समयतालिका तोकेको छ । आयोगका सहसचिव तथा प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज बिहान ११ बजे देखि ५ बजे सम्मको लागि हिजो उम्मेदवार मनोनयन दर्ता गराएका उम्मेदारमाथि दाबी विरोध को समय तोकिएको छ ।
यसअघि हिजो प्रतिनिधीसभा र प्रदेशसभाका लागि ६५ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा तर्फ कास्की २ तथा प्रदेशसभा तर्फ भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ ख मा मंसिर १४ गते उपनिर्वाचन हुनेछ । सोही दिन स्थानीय तहका प्रमुख, अध्यक्षसहित रिक्त रहेका ४८ सिटका लागि पनि निर्वाचन हुनेछ ।
यसैबीच भोलि उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । भोलि शनिबार परेपनि आयोगले भने निर्धारित कार्यतालिका अनुसार काम हुने स्पष्ट पारेको छ । पर्सी आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिने सक्ने छन्, भने सोहि दिन अपरान्ह अन्तिम नामावली प्रकाशन गरिने छ । आयोगले २५ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने छ ।
स्थानीय तहकालागि भने २७ कार्तिकमा मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । मंसिर १४ गते ३७ जिल्लाका ५२ स्थानमा निर्वाचन हुने छ ।





प्रतिक्रिया