काठमाडौँ । नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वपक्षीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालका अनुसार दिउँसो हुने छलफलमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीलगायत सहभागी हुनेछन् । छलफलमा सीमाविद, परराष्ट्रविद तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि बोलाइएको छ ।
नापी विभागले प्रस्तुत गर्ने नक्सा तथा अरु तथ्य प्रमाणका आधारमा छलफल गर्ने र सुझावसहितको निष्कर्षका आधारमा भारतसँग कुरा गर्ने योजनामा प्रधानमन्त्री रहेकाे उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल गर्न लागेका हुन् ।
भारतले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेपछि यसको चर्को विरोध भैरहेको छ । नेपाली भूमि फिर्ताका लागि तत्काल पहल गर्न सत्तारुढ नेकपाकै नेताहरुसहित प्रमुख विपक्षी कांग्रेस लगायतका दल र विद्यार्थी संगठनहरुले दबाब दिइरहेका छन् ।





प्रतिक्रिया