काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी र जनस्तरमा सबैभन्दा बढी आलोचित प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको राजीनामा अस्वीकृत गरेपछि बालुवाटार कोटरीमा पुनः विवादास्पद अनुहारकै बोलवालाले निरन्तरता पाएको छ । प्रधानमन्त्रीले केही दिनअघि मात्र आफ्नो सचिवालयका सल्लाहकारहरूलाई राजीनामा गर्न लगाएर केही आशा जगाउन खोजेका थिए, तर रिमालको निरन्तरताले त्यो आशामा तुषारापात भएको छ ।
प्रधानमन्त्रीले आफ्ना सल्लाहकारहरूको राजीनामा माग्दा सबैले रिमाललाई नै हटाउने अपेक्षा गरेका थिए । प्रधानमन्त्रीलाई विवादमा पारिरहने, प्रधानमन्त्री र नेकपाका शीर्ष नेताहरूबीच भेटघाट हुनै नदिने, दूरी बढाउने र जिम्मेवार भूमिकामा रहेर पनि ट्वीटरमार्फत विवादास्पद टिप्पणी गरेर सरकारलाई अप्ठ्यारो पार्ने हर्कत गर्दै आएकोमा रिमालप्रति नेकपाकै नेताहरूले व्यापक असन्तुष्टि जनाउँदै आएका थिए ।
सरकारको कार्यशैलीको विरोध गर्ने पार्टीभित्रैका असन्तुष्ट नेताहरूलाई गएको असारमा ट्वीटरमार्फत ‘छौंडा’ भनेपछि रिमालको चर्को आलोचना हुँदै आएको थियो । रिमालले छौंडा भनेर पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलप्रति निशाना साँधेका थिए, जसले अघिल्लो दिनमात्र नेकपा संसदीय दलको बैठकमा सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका थिए । नेता नेपाल र रावलले भारतबाट आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण रोक्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका थिए ।
प्रधानमन्त्रीका सल्लाहकारले नै छौंडाजस्तो निम्न कोटीको निम्छरो शब्द उच्चारण गरेपछि नेकपाका रामकुमारी झाँक्री, डा. विजय पौडेललगायतले चर्को विरोध गरेका थिए । हुँदा हुँदा रिमालको हर्कतले संसद्मा समेत सरकारलाई लज्जित बनाइदियो । संसद्मा कांग्रेसका सांसद अतहर कमाल मुसलमानले ‘छौंडाहरू को, कसरी सञ्चालित छन् ?’ भन्दै प्रश्न गरेका थिए ।
सल्लाहकार रिमाललाई प्रधानमन्त्री ओली र पार्टी नेता माधव नेपालबीच दूरी बढाउन शकुनी भूमिका निर्वाह गरेको आरोप पनि पार्टीभित्र लाग्दै आएको छ । गएको भदौ ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा सचिवालयको बैठकमा ओली र नेपालबीच भनाभन नै भएको थियो । ओलीले नेता नेपालले पाउँदै आएको वरिष्ठ नेताको पद अर्का नेता झलनाथ खनाललाई सुम्पिएपछि विवादले चर्को रूप लिएको थियो । त्यसक्रममा ओलीले आफूलाई नेता नेपालको स्वास्थ्यलाभको कामनासमेत आवश्यक नभएको बताएका थिए । नेपालले चाहिँ ‘स्वास्थ्य लाभको कामनासमेत चाहिँदैन भन्ने आपराधिक मानसिकता त्याग्न’ ओलीलाई सुझाव दिएका थिए ।
यसरी नेताहरूबीच बाझाबाझ भइरहेको सारा दृश्य देखेका सल्लाहकार रिमालले नै यसलाई झन् फुलबुट्टा भरेर मिडियामा सार्वजनिक गरेको र दुई नेताविच कटुताको आगोमा मट्टीतेल छर्किएको आरोप पनि उनीमाथि लाग्दै आएको छ । स्मरणीय रहोस्, त्यो भनाभनको समाचार सार्वजनिक भएयता ओली र नेपालबीच संवाद नै टुटेको थियो । गत साता ओलीले धुन्धुकारी सल्लाहकारहरूलाई हटाउने संकेत दिएपछि ओली र नेपाल नजिकिएका थिए । तर, बालुवाटार कोटरीमा पुनः रिमालकै रजगज हुने भएकाले माधव नेपाल पक्ष सशंकित देखिन्छन् ।
सल्लाहकार रिमालले प्रधानमन्त्रीको सचिवालयलाई केही दिनअघि मात्र विवादमा पारेका थिए । प्रधानमन्त्रीको मिर्गौलाले काम नगरेको, छातीमा पानी जमेको, ग्रान्डी अस्पतालमा डायलासिस गरिएको आदि सत्य तथ्य लुकाएर ‘प्रधानमन्त्रीको स्वास्थ्य सामान्य’ भनी झूटो सूचना फैलाएका थिए । प्रधानमन्त्रीको स्वास्थ्यजस्तो संवेदनशील विषयमा जनतालाई गुमराहमा राख्ने उनको हर्कतको सर्वत्र आलोचना भएको थियो ।
प्रधानमन्त्री ओलीलाई बोआओ सम्मेलनको साटो दिल्लीतिर पुर्याउने, भारतको एकाधिकार कायम हुने गरी पेट्रोलियम पाइपलाइनको उद्घाटन गराउने, मिडिया काउन्सिल विधेयकका नाममा प्रेसमाथि नियन्त्रण गर्ने, गुठी विधेयक ल्याएर काठमाडौंको नेवार समुदायलाई भड्काउने, सरकार र पार्टीबीचको सम्बन्ध समधुर हुन नदिने, आफ्नै नाता पर्ने मनोज पाण्डेलाई ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ सञ्चालन गर्न लगाएर राज्यको ढुकुटी दोहन गर्ने आदिमा रिमालको चलखेलका कारण उनी पार्टीपंक्तिकै आलोचित थिए । तर, ओलीले पुनः उनैलाई काखी च्यापेपछि ‘बालुवाटार सुध्रिनेवाला छैन’ भन्ने सन्देश गएको छ ।





प्रतिक्रिया