देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपनिर्वाचनमा कांग्रेसको पक्षमा जनलहर

देशान्तर

काठमाडौं । आजको ठीक ६ दिनपछि हुन गइरहेको उपनिर्वाचनलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारूढ नेकपाले आफ्नो पार्टीको लागि जनमतसंग्रहको रूपमा लिएका छन् । गत संघ, प्रदेश र स्थानीय निकायको चुनावमा पराजित मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यो निर्वाचनलाई आफ्नो अग्निपरीषाको रूपमा लिएको छ भने सत्तारूढ नेकपाले यसलाई आफ्नो दुईवर्षे शासनको परीक्षाको रूपमा ग्रहण गरेको छ ।

त्यसैले मुलुकका दुवै प्रमुख राजनीतिक दलहरू पार्टीको जीवनमरणको प्रश्नको रूपमा यसलाई चित्रित गरिरहेका छन् । दुई तिहाइको बलियो सरकार भए पनि जनतामा सुशासन दिन नसकेको, शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको, महँगी, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको साथै विकास निर्माणका कार्य पनि समयमै गर्न नसकेको जस्ता अनेकौं सन्दर्भहरूबाट गुज्रिरहेको अवस्थामा छ । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सरकारको डटेर मुकाबिला गर्न नसकेको आफ्नै पार्टीलाई एक ढिक्का पार्न नसकेको र शीर्षस्थ नेतृत्वले जनतालाई विश्वासमा लिन नसकेको जस्ता आरोपबाट गुज्रिरहेको अवस्थामा मतदाताहरू कस्को पक्षमा लाग्ने हुन् भन्ने अझै यकिन गर्न सक्ने अवस्था नभए पनि विगतका चुनावहरूमा पनि सरकारको विरोधमा मतदान भइरहेको सन्दर्भलाई हेर्दा यसपटक कांग्रेसको पक्षमा जनलहर रहेको स्वतन्त्र पर्यवेक्षकहरूको भनाइ छ ।

कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा, भक्तपुर क्षेत्र नं. १ प्रदेश ‘क’, दाङ क्षेत्र नं. ३ प्रदेश ‘ख’ र बागलुङ क्षेत्र नं. २ प्रदेश ‘ख’ सबैमा कांग्रेसको पक्षमा लहर आएको हाम्रा स्थानीय संवाददाताहरूले समाचार सम्प्रेषण गरेका छन् । कास्की क्षेत्र नं.२ मा अस्ति शुक्रबार भएको कांग्रेस शीर्षस्थ नेतृत्व सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रभावशाली नेता डा. शेखर कोइराला र प्रखरवक्ता एवं युवा नेता गगनकुमार थापासहितको चुनावी घरदैलो तथा सभाहरूले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको पक्षमा अझ बढी माहोल बनेको स्थानीय मतदाताहरूको भनाइ छ । त्यसैगरी स्थायी रूपमा केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधि प्रभावशाली केन्द्रीय सदस्य एवं सांसद् डा. मीनेन्द्र रिजालको खटाइ र रणनीतिक सुझबुझका कारण पनि चुनावी माहोल कांग्रेसको पक्षमा बढेको स्थानीय कार्यकर्ताको भनाइ छ ।

मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेस उम्मेदवार खेमराज पौडेल र नेकपाकी प्रत्याशी विद्या भट्टराईबीच हुने निश्चित भएको छ । उपनिर्वाचनमा यी दुवै पार्टीलाई जसरी पनि जित्नुपर्ने बाध्यातात्मक अवस्था छ । सोही रणनीतिबमोजिम दुवै पार्टीका केन्द्रीय नेताहरू नै चुनावमा परिचालित छन् ।

नेकपाकी प्रत्याशी विद्या तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । खेमराज पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा ६ दशक लामो संघर्ष गरेका परिपक्व र खारिएका कास्की कांग्रेसका सर्वमान्य नेता हुन् भने विद्या अखिलको राजनीतिक पृष्ठभूमिलाई ओझेलमा पार्दै प्राध्यापन पेसामा रहँदै गर्दा एक्कासि टिकट लिएर जनतासामु आएकी हुन् । खेमराज शिक्षण पेसा र राजनीतिक यात्रालाई निरन्तरता दिँदै चिनी कारखानाको अध्यक्ष र सुकुमबासी आयोगको अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । कांग्रेसका बीपी, गणेशमान, किशुनजीसँग निकट भई सादगी सदाचारी तिनै सादगी नेता खेमराजलाई अघि सार्दै जनताको विश्वास जित्ने दाउमा छ ।

त्यसैगरी कांग्रेसले नेकपाको सरकारको अलोकप्रियता, महँगी, भ्रष्टाचार र अस्वाभाविक करवृद्धिजस्ता विषय जनता सामु पु¥याएर चुनाव आफ्नो पोल्टामा पार्ने रणनीतिसमेत बनाएको छ । उता नेकपाले विद्यालाई स्व. रवीन्द्रको उत्तराधिकारीका रूपमा अघि सार्दै सहानुभूतिको भोटबाट आफ्नो साख जोगाउने रणनीति बनाएको देखिन्छ ।

यसअघि कास्की २ बाट आठ हजार पाँच सय ४६ को फराकिलो मतान्तरले निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पपुलर भोट जोगाउन नसकिने निष्कर्षमा नेकपा पुगेको छ । हाल कास्की २ मा ७१ हजार आठ सय ७० मतदाता छन् । तीमध्ये करिब ७० प्रतिशत मत खस्ने अनुमान छ । अहिलेको प्रारम्भिक मत सर्वेक्षणमा कांग्रेसभन्दा चार हजार मत बढी रहेको नेकपाको दाबी छ ।

तर नेकपा सरकारको वाइडबडी खरिद प्रकरण, तारागाउँ रिजेन्सी होटलको सेयर लिलामी प्रकरण, काठमाडौं तराई जोड्ने द्रुतमार्गमा नेपाली सेनाको जग्गा खरिद घोटला प्रकरण, एनसेल प्रकरणजस्ता भीमकाय भ्रष्टाचार प्रकरणमा मुछिएको घटनाले एकाएक उनको लोकप्रियता ह्वातै घटेको छ । त्यतिमात्र होइन रवीन्द्रमाथि शक्तिको दुरुपयोग गरी विभिन्न हाइड्रोपावर कम्पनीबाट सेयर लिएको, फेवातालको जग्गा अतिक्रमणकारी तथा भ्रष्टाचार अभियोग लागेको व्यक्तिहरूलाई विज्ञ टोलीमा मनोनीत गरेको लगायतका आरोपहरूसमेत लागेको थियो ।

रवीन्द्रले कमाएको अकुत सम्पत्ति उनका आसेपासेका नाउँमा सञ्चालित विभिन्न व्यापार व्यवसायमा लगानी रहेको र रवीन्द्र ‘हिडेन पार्टनर’ का रूपमा रहेको स्रोतको दाबी छ । उनको अकुत सम्पत्तिको लगानीमा मालिक बनेका छद्मभेषी उद्यमीहरूको सम्पत्तिको स्रोतमाथि छानबिन गर्दाका बखत सो कुरा प्रमाणित हुने स्रोतले बतायो । पोखरामा गुण्डागर्दी गर्नेहरूसँग पनि रवीन्द्रको राम्रै हिमचिम थियो ।

उनी गृहजिल्ला आउँदा पनि आफ्नै मतदाताले रवीन्द्र विरोधी नारा घन्काउँथे । त्यस्तै कास्की २ मा नेकपाका थुप्रै त्यागी र हस्ती नेताहरू पनि छन् । विद्यालाई स्व. रवीन्द्रको उत्तराधिकारी बनाएर अघि सारिएपछि नेताहरू निराश छन् । यद्यपि पार्टीको केन्द्रीय शक्ति नै विद्याको पक्षमा लाग्दा स्थानीय नेताहरू देखिने गरी विरोधमा आउन पनि सकेका छैनन् । उता विद्याको चुनावी कमान्डर पूर्वमाओवादीतर्फका नेता हाल नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङ ‘करण’लाई बनाइएको छ । उनी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणमा मुछिएका व्यक्ति हुन् । उनी पहिलो संविधान सभाबाट कास्की २ बाट निर्वाचित भएका थिए ।

विमानस्थल भ्रष्टाचार प्रकरणपछि दोस्रो संविधानसभा निर्वाचनमा गृह जिल्ला पर्वतबाट प्रत्याशी बनेका करणले पराजय भोगे । त्यसपछि ०७४ को आम निर्वाचनमा पुनः कास्की २ को प्रदेश ख बाट पराजित भएका थिए । पूर्वएमाले र पूर्वमाओवादीको साझा उम्मेद्ववार बनेका करणलाई तिनताका पूर्वएमाले नै चुनाव हराएको पूर्वमाओवादीको विश्लेषण थियो । तर उनीमाथि लागेको विमानस्थल भ्रष्टाचार प्रकरण मुद्दा नै उनको चुनावी हारको कडी रहेको पूर्वएमालेतर्फका एक नेताले बताए । अहिले उनै करणलाई चुनावी कमान्डर बनाउँदा विद्या माथि घात नहोला भन्ने अवस्था पनि छैन ।

अर्कोतर्फ कास्की २ भित्र पोखरा र यसका आसपासमा गाउँसमेत गरी ११ वटा वडाहरू पर्दछन् । तीमध्ये अधिकांश ग्रामीण भूभाग छन् । विद्याका लागि यी सबै नयाँ क्षेत्र हुन् । शारीरिक अशक्तताका कारण विद्यालाई ती सबै गाउँमा पुगेर घरदैलो गर्न निकै कठिन पनि छ । साँच्चै विद्यालाई न्याय वा सहानुभूतिका लागि राष्ट्रिय सभामा मनोनीत गरी मन्त्री बनाउन सकिने अवस्था हुँदाहुँदै चुनावी मैदानमा पठाएकोमा पार्टीवृत्तमा निकै आलोचना भएको छ । यद्यपि नेकपाले सहानुभूतिको मतबाट कास्की २ गुम्न नदिने रणनीति बनाएर विद्यालाई अघि सारिएको भए पनि नतिजा भने फरक निस्किने विश्लेषण गर्न थालिएको छ । विद्याको विकल्पमा नेकपाभित्र धेरै आकांक्षी रहेकाले शक्ति सन्तुलन लागि विद्यालाई अघि सारिएको भए पनि सकारात्मक नतिजा आउनेमा शंका उब्जिएको नेकपाको उच्च स्रोतले बताउँछ ।

तर, नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल भने अहिलेसम्म कुनै पनि चुनावमा नउत्रेका र परीक्षण नभएका त्यागी, इमानदार नेता भएकाले उनको पक्षमा माहोल बन्दै गइरहेको छ । त्यसमाथि नेपाली कांग्रेस कास्कीका सबै नेता एकजुट भएर उनको चुनावी कार्यक्रममा सहभागी भएकाले पनि कांग्रेसमा थप उत्साह बढेको छ । त्यसैले एक सातापछि हुने चुनावमा कांग्रेसका उम्मेदवार पौडेलको सम्भावना बढ्दै गइरहेको छ ।

उता भक्तपुर निर्वाचन क्षेत्र १, प्रदेश ‘क’का उम्मेदवार कृष्णलाल भँडेलको पक्षमा माहोल बढिरहेको छ । राजधानीसँगै जोडिएको चुनाव क्षेत्र भएकोले पनि प्रत्येक दिनको चुनावी प्रचार घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेताहरू सक्रिय छन् । हिजो प्रदेशअन्तर्गतको तत्कालीन सुँडालमा भएको चुनावी प्रचार कार्यक्रममा पार्टीका महामन्त्री पूर्णबहादुर खड्का स्वयम् सहभागी हुनुहुन्थ्यो । त्यसैगरी अघिल्ला घरदैलो कार्यक्रमहरूमा डा. रामशरण महत, एनपी साउद, नवीन्द्रराज जोशी, गगन थापा, प्रदीप पौडेल, उदयशमशेर राणा, कञ्चनबादे श्रेष्ठ, होमराज दाहाल, लोकेश ढकाल, गोविन्द शाहलगायतका केन्द्रीय नेताहरू सहभागी थिए । र केन्द्रीय प्रतिनिधिको रूपमा खटिएका पूर्वमन्त्री एवं केन्द्रीय सदस्य मोहन बस्नेत पनि अहोरात्र खटिएका छन् ।

यसले गर्दा कांग्रेसको पक्षमा माहोल बढ्दै छ । पुरानो दुवाकोट, चाँगु, छालिङ, बागेश्वरीमा कांग्रेसको स्थिति बलियो नै थियो, कमजोर भनिएका झौखेल, नगरकोट, सुँडाल र ताथलीमा समेत कांग्रेसको उम्मेदवार भँडेलको पक्षमा जनलहर पैदा भएको छ । यस प्रदेशमा पर्ने भक्तपुर नगरपालिकाको एक मात्र वडा नं.१० मा अन्य वडाको भन्दा कांग्रेसको उपस्थिति मजबुत नै छ । यो चुनावमा झनै कांग्रेसको पक्षमा मत बढ्ने स्थानीय बासिन्दाहरूको भनाइ छ । किनभने नेमकिपालाई मत दिएर जित्ने होइन, नेकपाको उपस्थिति एकदमै कमजोर छ त्यसैले कांग्रेसलाई मत थपिदिँदा उसको जित निश्चित हुने हुनाले समीकरण बदलिएको छ । यसरी सरसर्ती हेर्दा विगतको चुनावमा झन्डै दुई हजार मतले नेकपाका उम्मेदवार विजयी भएको अवस्थामा अहिले कांग्रेसको उम्मेदवारले त्यही मत आफ्नो पक्षमा पारेमा चुनाव जित्ने निश्चित छ । त्यसमाथि नेकपाको उम्मेदवार डीपी ढकाल अघिल्लो चुनावमा पनि विद्रोहीको रूपमा नामांकन भरेका व्यक्ति र भक्तपुरका स्थानीय बासिन्दा नभएकाले पनि स्थानीय मतदाता, स्थानीय उम्मेदवार कृष्णलाल भँडेलप्रति आकर्षित छन् । चुनावको दौरानमा भँडेलकी ममतामयी माता सेतीमाया भँडेल निधन भएकोले सहानुभूतिको मतसमेत आउने भएकोले कांग्रेसको जित निश्चित हुँदै गइरहेको छ ।

त्यसैगरी दाङ क्षेत्र नं. ३ प्रदेश ‘ख’मा कांग्रेसको पक्षमा माहोल बन्दै गइरहेको छ । गत आइतबार पश्चिम दाङको भएको सभामा ठूलो संख्यामा जनसहभागिता थियो । सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री केन्द्रीय सदस्य दीपक गिरीले विभिन्न आन्दोलनको नेतृत्वकर्ता केशव आचार्यको जित सुनिश्चित हुने दाबी गरे । लोकतान्त्रिक आन्दोलनका खम्बा शालिन व्यक्तित्व आचार्यलाई जिताएमा दंगाली जनताको जित हुने बताए । साथै अघिल्लो चुनावमा कांग्रेस हारेकोले पश्चिम दांगबासीलाई ठूलो क्षति भएको समेत जिकिर गरे ।

त्यस्तै कार्यक्रममा अर्का व्यक्ता पूर्वमन्त्री सञ्जय गौतमले कम्युनिस्टका कारण अन्तर्राष्ट्रिय जगत्मा बेइज्जत भएको र कम्युनिस्ट सरकारको अधिनायकवादको विरुद्ध दाङको समृद्धिका लागि कांग्रेसका उम्मेदवार लोकतान्त्रिक उम्मेदवारका धरोहर आचार्यलाई मत दिन आग्रहसमेत गरे ।

बबई गाउँपालिकाका सभापति बलबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा ५ प्रदेशका लेखा समितिका सभापति दिल्लीबहादुर चौधरी, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, बारका पूर्वअध्यक्ष शेरबहादुर केसीलगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भएका रेश्मा डाँगीको नेतृत्वमा ५१ जना नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका थिए । त्यसअघि दाङको हापुरीमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय १५ जना कांग्रेस प्रवेश गरेका थिए ।

बागलुङमा पनि कांग्रेसलाई फाइदा

नेपाली कांग्रेसबाट अघिल्ला पटक निर्वाचनमा उपविजेता रहेका जित शेरचन उम्मेदवार छन् । वाम गठबन्धनले राष्ट्रिय जनमोर्चाको खिमविक्रम शाहीलाई उम्मेदवार बनाएको छ । अहिले वाम गठबन्धनमा पनि खटपट भएकाले आफ्नो पक्षमा माहोल पार्ने दाउमा कांग्रेस छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच केन्द्रीय स्तरमा भएको सहमतिलाई चुनौती दिँदै बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा ख को उपनिर्वाचनमा उम्मेदवारी दिएपछि शेरमान घर्ती ‘हट केक’ बने ।

कात्तिक २१ मा पार्टीले पश्चिम बागलुङलाई अवमूल्यन गरेको भन्दै बागी उम्मेदवारी दिएका शेरमान समर्थकहरूको साथमा रातारात बुर्तिबाङ फर्किए । उम्मेदवारी दर्तालगत्तै गाडी चढेर बाटो लागेपछि जिल्ला तहका नेताहरूले गहिरोसँग छलफल गर्न पाएनन् । उम्मेदवारी दर्ता भए पनि सजिलै फिर्ता लिन्छन् भन्ने विश्वास थियो होला उनीहरूलाई । किनकि पश्चिम बागलुङका कम्युनिस्ट नेताहरूको अवमूल्यन भएको भनिएको यो पहिलो पटक होइन र उनीहरूले पार्टीलाई घुक्र्याउने काम गरेका पनि यो पहिलो थिएन ।

यो पटक भने नेताहरूले सोचेजस्तो उम्मेदवारी फिर्ता गराउने काम त्यति सहज हुन सकेन । चार दिनदेखि निरन्तर छलफल जारी रहे पनि शेरमानले उम्मेदवारी फिर्ता नलिने अडान यथावत् राखेपछि निर्वाचन कार्यालयले तोकेको उम्मेदवारी फिर्ता गर्ने समयसमेत घर्कियो । उम्मेदवारी फिर्ता गर्ने समय २० मिनेट पर पुगिसक्दा शेरमान प्रभुको हेलिकप्टरबाट बागलुङ ओर्लिए । आधिकारिक रूपमा उनले उम्मेदवारी फिर्ता लिन नपाएपछि नेकपाको पार्टी कार्यालयमा पत्रकार भेटघाट गरेर एउटा विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई सघाउने घोषणा गरेका छन् । ‘पार्टीको निर्देशनअनुसार मैले आफ्नो उम्मेदवारी फिर्ता लिएर खिमजीलाई सघाउने घोषणा गर्छु,’ उनले भने, ‘भौगोलिक विकटताका कारण समयमा आउन सकिएन र आधिकारिक रूपमा उम्मेदवारी फिर्ता गर्न सकेन ।’

पार्टीले आफ्ना मुद्दाहरूलाई सम्बोधन गर्ने भनेपछि आफू उम्मेदवारी फिर्ता लिन तयार भएको उनको भनाइ छ । ‘मैले बागलुङको पश्चिम भागलाई छुट्टै जिल्ला बनाउनुपर्छ भनेर माग गर्दै आएको थिएँ,’ उनले भने, ‘पार्टीको जिल्ला र केन्द्रीय नेतृत्वले पनि यसलाई अगाडि बढाउने भनेपछि मैले उम्मेदवारी फिर्ता लिएको हुँ । अब म खिमविक्रमजीलाई जिताउन लाग्छु ।’ नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले पनि पश्चिम बागलुङको जनमतको बारेमा केन्द्रीय नेतालाई जानकारी गराउने सहमति भएको बताए । ‘त्यो क्षेत्रको माग सम्बोधन हुनुपर्छ भन्नेछ,’ उनले भने— ‘उहाँहरूको आवाजलाई हामीले जस्ताको त्यस्तै पु¥याउँछौं ।’ अब शेरमानले निर्वाचनको मुख्य कमान्डर भएर निर्वाचन हाँक्ने र चुनाव चिन्ह लिने काममा सहभागी नहुने बताए ।

उम्मेदवारी फिर्ताका लागि आइतबार बिहान १० बजेदेखि दिनको १ बजेसम्मको समय तोकिएको थियो । शेरमानको उम्मदेवारी फिर्ता गराउन भनेर प्रभुको हेलिकप्टर दिन साढे १२ बजे बुर्तिबाङको उत्तरगंगा माविमा अवतरण ग¥यो । १० मिनेट जति त्यहाँ कुर्दा नेकपाका कुनै पनि नेता त्यहाँ नपुगेपछि ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीको घर होटल दरबारमा गएर हेलिकप्टर रोकियो । त्यतिबेला बागी उम्मदेवार शेरमान अर्का नेता तुलसीराम अर्यालको घरमा थिए । उम्मेदवार घर्तीलाई बन्धक बनाइएको भन्ने कसैले जानकारी दिएपछि प्रहरीले शेरमान र तुलसीराम दुवैलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङमा लगेको थियो । दिनको १ बजेर ४ मिनेट जाँदा मात्रै शेरमान हेलिकप्ट चढेर बागलुङ आए । बागलुङ आइपुग्दा १ः२० भइसकेकाले उनले उम्मेदवारी झिक्न पाएनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्धारित समयमा कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको बताएको छ ।

‘तोकिएको समयमा कसैले पनि फिर्ता गर्नु भएन,’ मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले भने, ‘समय सकिएकाले अब फिर्ता हुँदैन ।’ शेरमानको उम्मेदवारी फिर्तासँगै पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउने मुद्दा फेरि चर्कोसँग बल्झिएको छ । नेपाली कांग्रेसको क्षेत्रीय समितिले जनजागरणको अभियानमै छुट्टै जिल्ला बनाउने निर्णय गरेर कार्यक्रम गरेका थियो । नेकपाका नेताहरूले पनि जिल्लाले आफूहरूलाई अन्याय गरेको भन्दै छुट्टै जिल्ला बनाउने माग गर्दै आएका थिए । वाम गठबन्धन जोगाउनका लागि शेरमानको मागमा सहमति जनाएसँगै यो मुद्दा अब पेचिलो भएर गएको छ । शेरमान घर्ती २०६४ अघि राष्ट्रिय जनमोर्चामा क्रियाशील थिए ।

राष्ट्रिय जनमोर्चाबाटै उनले २०५४ सालमा बोबाङको गाविस अध्यक्ष निर्वाचित भएका थिए । पछि माओवादी प्रवेश गरेका उनी माओवादी केन्द्रबाट संविधान सल्लाहकार बने । स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका उनी तेस्रो स्थानमा आएका थिए । नेकपा माओवादी केन्द्रले शेरमानलाई उम्मेदवारी बनाउने निर्णय गरेपछि उम्मेदवारी दर्ता गर्ने बिहान नेकपा एमाले प्रवेश गरेका देवकुमार नेपालीले मेयरको निर्वाचनमा बाजी मारे । शेरमानको उम्मेदवारीलाई लिएर पश्चिमका नेकपा नेताहरूमा दुई धार देखिएकाले उम्मेदवारी फिर्ता लिनमा ढिलाइ भएको बताउँछन् ।

शेरमान घर्तीलाई उम्मेदवार बन्न सहयोग गरेका दधिराम अर्याल र तुलसीराम अर्याललाई नेकपाले कारबाही गरेपछि अहिले पश्चिम बागलुङमा सनसनी मच्चिएको छ । अर्याल दाजुभाइ अहिले उम्मेदवारविहीन क्लिप चिन्हमा मतदान गर्न आग्रह गर्दै गाउँगाउँमा हिँडेका छन् । पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउन क्लिप चिन्हमा मतदान गर्न माग गर्दै हिँडेका उनीहरूले सेन्टिमेन्ट क्याच गर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा वाम मत क्लिप चिन्हमा जाँदा कांग्रेसलाई फाइदा हुने देखिन्छ । अहिले नेकपा मसालले पार्टी नेताहरूलाई धमाधम गरेको कारबाही र तिहारको मौका राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले आफ्नै पार्टीबाट निर्वाचित ढोरपाटन नगरपालिकाका वडाध्यक्षलगायत माथि गरेको कुटपिटले राजमो भित्र पनि असन्तुष्टको खेमा ठूलै रहेको बताइन्छ ।

राष्ट्रिय जनमोर्चाको आन्तरिक बेमेल र नेकपाले पश्चिम बागलुङमा यसअघि संसदीय निर्वाचनमा उम्मेदवारसमेत भइसकेका तुलसी अर्याल र राम्रै जनाधार भएका दधिराम अर्याललाई कारबाही गरेपछि कांग्रेसको पक्षमा जनमत बढ्ने देखिन्छ । अघिल्लो निर्वाचनमा ३ हजार मतान्तरले हारेका कांग्रेसले यस पटक १५ सय मत मात्रै तलमाथि हुँदा आफ्नो पक्षमा जित हात पार्ने देखिन्छ ।