देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपाललाई फेरि अर्को झट्का

देशान्तर

काठमाडौं । नेकपाभित्र पटकपटक अपमानित भइरहेका नेता हुन् माधव नेपाल । नेकपा गठन भएपछि पार्टी वरीयतामा झलनाथ खनालभन्दा माथि राखिएका र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला पार्टीको कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी पाएका नेता नेपाल पछिल्लो समयमा भने अपमानको सिकार भइरहेका छन् । अपमानको शृंखला पछिल्लो मन्त्रिपरिषद् हेरफेरसम्म पनि जारी रह्यो ।

मन्त्रिपरिषद् हेरफेर गर्नुअघि ओलीले नेपालसँग सम्बन्ध सुध्रिएको संकेत गरेका थिए । दुई नेताबीच करिबकरिब बोलचालै बन्द हुने अवस्था रहेकोमा ओलीले एक साता अघि नेपाललाई बालुवाटार डाकेर करिब चार घण्टा भलाकुसारी गर्न भ्याए । त्यसलाई नेपालले पनि सकारात्मक रूपमा लिए । पार्टीभित्र आफूले सम्मानजनक हैसियत पाउनेमा उनी विश्वस्त देखिन्थे ।

नेपाल निकट नेकपाका एक नेताका अनुसार ओली–नेपालको पछिल्लो चारघण्टे भेटवार्ता प्रधानमन्त्री ओलीले दुई घण्टा जति अर्का अध्यक्ष प्रचण्डसितको असन्तुष्टि पोख्नमै बिताएका थिए । ओलीले नेपालसँग पार्टीको बागडोर कुनै पनि हालतमा आफू प्रचण्डलाई दिन इच्छुक नरहेको, प्रचण्ड जत्तिको अविश्वासी नेता अरू कोही नरहेको र प्रचण्डले आफूसँग पदका लागि नाजायज बार्गेनिङ गरिरहेको दुःखेसो गरेका थिए । प्रचण्डको चंगुलमा पार्टीलाई जानबाट रोक्न तपाईं र मिल्नुको विकल्प नरहेको पनि ओलीले नेपाललाई प्रस्ट पारेको एक नेताले बताए ।

तर मन्त्रिपरिषद् हेरफेर र पार्टीको जिम्मेवारी बाँडफाँडमा ओलीले नेपाललाई पूर्ण रूपमा बेवास्ता गरेपछि नेपाल प्रचण्ड र ओली दुवैप्रति क्रुद्ध बनेका छन् । ओलीले पार्टीको कार्यकारी कमान प्रचण्डलाई सुम्पिए । उता मन्त्रिपरिषद् हेरफेरमा पनि माधव नेपालका कुनै पनि नेतालाई स्थान दिएनन् । यहाँसम्म मन्त्रिपरिषद् हेरफेरबारे को को ल्याइँदैछ भन्नेबारे ओलीले नेपाललाई सुइँकोसम्म दिएनन् ।

अघिल्लो सरकारले नियुक्त गरेका सातवटै प्रदेशका प्रमुखहरूलाई बर्खास्त गरेर उनीहरूको स्थान सात नयाँ प्रमुखहरूलाई नियुक्त गर्ने बेलामा पनि ओलीले नेपाललाई बेवास्ता गरेका थिए । ती सातवटै नियुक्तिहरू ओली र प्रचण्डले ४ र ३ को संख्या भाग लगाएर एकलौटी भागबन्डा गरेपछि मात्र माधव नेपाल चिढिएका थिए । उनले त्यसप्रति आफ्नो असन्तुष्टि लिखित रूपमै जाहेर गरे– ‘नोट अफ डिसेन्ट’ लेखेर । मन्त्रिपरिषद् हेरफेरमा फेरि उही अपमान दोहोरिएपछि नेता नेपाल यतिबेला पार्टीमा कसरी अगाडि बढ्ने भन्नेमा सोचमग्न भएका छन् ।