देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहमति हुन नसकेपछि कांग्रेस बैठक सर्‍यो

देशान्तर

काठमाडौं । नेताहरुबीच सहमति जुट्न नसक्न नेपाली कांग्रेसको सोमबार बस्ने भनिएको बैठक बुधबार सारिएको छ । रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट समूहले सभापति शेरबहादुर देउवाले बोलाएको बैठक बहिष्कार गरेपछि उक्त बैठक बुधबार सरेको हो।

सोमबार बिहान प्रकाशमान सिंहको निवासमा सिंह र उपसभापति विमलेन्द्र निधिबीच कुराकानी भए पनि सहमति हुन सकेन। दुवैले शीर्ष तहमा छलफल गरेर सहमति बनाउँदै भन्दै उठेका थिए। आइतबार बोलाएको बैठक पनि पौडेलसहितको असन्तुष्ट समूहले बहिष्कार गरेको थियो। महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेन्डामा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि पौडेल पक्षले बैठकमा भाग लिएको छैन।

आइतबार पनि एक बजे बोलाइएको बैठक पौने ४ बजे सुरु भएर एक घन्टामा सकिएको थियो। अब पेलेर अघि बढ्ने रणनीतिमा देउवा पक्ष देखिएपछि असन्तुष्ट पक्षले पनि थप दबाबको रणनीति बनाएको छ। पौडेल नेतृत्वको असन्तुष्ट समूहमा महामन्‍त्री सशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला पनि छन्।

सहमति जुटाउनका लागि उपसभापति विमलेन्द्र निधिले आइतबार बिहान पार्टी महामहामन्‍त्री सशांक कोइराला र असन्तुष्ट पक्षका नेता प्रकाशनमान सिंहसँग छलफल गरेका थिए।

महाधिवेशको क्यालेण्डर पहिले कि विभाग तथा अरु विषयको व्यवस्थापन पहिले भन्‍नेमा विवाद भएपछि सहमति हुन नसकेको हो।महामन्‍त्री कोइरालासहितको पौडेल समूहले पहिले महाधिवेशनको क्यालेण्डर टुंगो लगाएर अरु विषयमा प्रवेश गर्नुपर्ने अडान राख्‍दै आएका छन् भने देउवा नेतृत्वको संस्थापन पक्षले विभाग गठन तथा पार्टीका अन्य आन्तरिक व्यवस्थापनका विषय टुंगो लगाएपछि मात्र महाधिवेशनको क्यालेण्डर तय गर्नुर्ने पक्षमा देखिएको छ।

यही विवादका कारण गत बिहीबार बस्‍ने भनिएको बैठक पनि विवादमा परेको थियो। पौडेल र महामन्‍त्री कोइरालासहित असन्तुष्ट पक्षका नेता तथा सदस्यहरुले बैठक बहिष्कार गरेपछि देउवाले एकछिन बैठक बसाएर आइतबार बस्‍ने गरी स्थगित गरेका थिए। यसबीचमा संस्थापक्ष र असन्तुष्ट पक्षबीच पटकपटक विभिन्‍न तहमा छलफल र बैठक भए पनि सहमति हुन सकेको छैन।