देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा संसदीय दलको बैठक बस्दै

देशान्तर

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बोलाइएको हो ।

दिउसो २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको सहभागिता भने निश्चित भएको छैन । प्रधानमन्त्रीले सकेसम्म आफू बैठकको अध्यक्षता गर्न आउने जानकारी दिएको उपनेता सुवास नेम्वाङले बताए ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली गत आइतबारदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका छैनन् । एपेण्डिसाइटिसको शल्यक्रियापछि बालुवाटारस्थित निवास बाहिरका कार्यक्रममा नगएका प्रधानमन्त्रीले नियमित कामचाहिँ निवासबाटै गरिरहेका छन् ।

दलको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेमा उपनेता नेम्वाङले नै अध्यक्षता गर्नेछन् । बैठकमा पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताले सांसदहरूलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीको बिहीबारमात्र मिर्गौलाको नियमित डायलासिस गरिएको थियो ।

दलको बैठक र संसद् अधिवेशनका कारण स्थायी कमिटीको शुक्रबारको बैठक भने स्थगित भएको छ । उपप्रधानमन्त्री तथा पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले पनि आफू जलेश्वर जानुपर्ने भएकाले शुक्रबार बैठक नराख्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ ।