देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

होर्डिङ बोर्ड हटाउने काम तत्काल रोक्न माग गर्दै : साइनोज

देशान्तर

साइनोज एसोसिएशन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग गरेको छ ।

७५ हजारभन्दा बढी युवाहरु बेरोजगार हुने भन्दै साइनोजले सरकारको निर्णय तत्काल रोक्न माग गरेको हो । शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै साइनोजले सम्बन्धित व्यवसायीहरुसँग छलफल गरी समाधानको उपाय खोज्न पनि माग गरेको छ ।

बोर्डहरु हटाउनै परे यसमा गरिएको लगानी सुरक्षाको वातावरण सरकारले बनाउनुपर्ने माग गरिएको साइनोजका कोषाध्यक्ष अनन्त गौतमले बताउनुभयो । उहाँले सम्पूर्ण सरोकारवाला व्यक्ति राखेर होर्डिङ बोर्ड तथा विज्ञापन बोर्डको नीति ल्याउनुपर्ने, स्थानीय उत्पादन र कम मूल्यमा विज्ञापन गर्न पाउने उद्यमीहरुको नैसर्गिक अधिकार सुरक्षित गर्नुपर्ने माग सरकारसँग गरिएको बताउनुभयो ।

विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजालले जथाभावी निर्णय गरेर नागरिकको दैनिकी नखोस्न सरकारलाई आग्रह गर्नुभएको छ । होडिङ बोर्ड गृहमन्त्रालयले हटाउने कि पर्यटन मन्त्रालयले हटाउने वा ट्राफिक प्रहरी कसले हटाउने भन्दै स्पष्ट नीति बन्नुपर्ने उहाँले बताउनुभयो । उहाँले निमुखा मारेर वैदेशिक रोजगारीलाई प्रश्रय नदिन समेत आग्रह गर्नुभयो ।

गृहमन्त्रालयले बिहीबार शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामग्री हटाउने निर्णय गरेको थियो । काठमाण्डौ महानगरपालिकाभित्र चार समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने र अन्य स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिएर कारबाही अघि बढाउने निर्णय गृहले गरेसँगै व्यवसायी आन्दोलित भएका हुन् ।