देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उखुको बक्यौता पैसा नतिर्ने चिनी मिललाई कारवाही गर्न कृषि मन्त्रालयले गृहलाई पत्राचार

देशान्तर

किसानको पैसा नतिर्ने चिनी मिललाई कारवाही गर्न आग्रह गर्दै कृषि मन्त्रालयले गृहलाई सोमवारै पत्राचार गर्न लागेको हो ।

कृषिमन्त्री घनश्याम भुसालको निर्देशनमा मन्त्रालयले गृहलाई पत्राचार गर्न लागेको मन्त्रीका स्वकीय सचिव ज्ञानु भण्डारीले लोकान्तरलाई जानकारी दिए । उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै उखु किसान काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् ।

२०७५ असोजमा कृषि, उद्योग र गृह मन्त्रालय तथा चिनी मिल सञ्चालकबीच भएको सहमति कार्यान्वयन नगरेको भन्दै कृषिले सहमति कार्यान्वयन नगर्ने उखु मिललाई कारवाही गर्न आग्रह गर्दै गृहलाई पत्र पठाउन लागेको हो । ‘५ दिनभित्र बक्यौता तिर्ने सहमतिलाई चिनी मिलले विभिन्न बहानामा कार्यान्वयन नगरेका कारण कारवाहीको लागि गृहलाई आग्रह गर्न लागेका हौं,’ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

भुक्तानीको विषय कृषि मन्त्रालयभन्दा उद्योग मन्त्रालयको क्षेत्राधिकार बढी भएको भन्दै कृषिले उद्योग मन्त्रालयलाई पनि ताकेता गरेको छ । मन्त्री भुसाल स्वयं उद्योग मन्त्रालयमा गएर छलफल गरिरहेका छन् ।

सोमवार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा पनि विभिन्न दलका सांसदले उखु किसानका माग सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । नेकपाका बलराम बास्कोटा, राजपाका वृषेशचन्द्र लाल र समाजवादी पार्टीका रामप्रित पासवानले उखु किसानका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।