काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच बालुवाटारमा छलफल सुरू भएको छ।
पार्टीबाट प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा उनीहरूको छलफल केन्द्रीत छ।
सभामुखको उम्मेदवार को हुने भन्नेबारे नेकपाभित्र सहमति हुन सकेको छैन। आजको भेटमा दुई अध्यक्षले सभामुखको उम्मेदवार टुंगो लगाउने अपेक्षा नेकपा नेताहरूले गरेका छन्। प्रधानमन्त्री केपी ओलीले पूर्व सभामुख एवम् स्थायी समिति सदस्य सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने पूर्वमाओवादी पक्षधरले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन बल गरिरहेका छन्। उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखका लागि आफू स्वभाविक दाबेदार रहेको बताउँदै आएकी छन्। नेकपाभित्र सभामुखको चयनमा सहमति नहुँदा प्रतिनिधि सभाको बैठक समेत प्रभावित भएको छ।
पुस ११ गते बस्ने भनिएको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ। भोलिको बैठकबाट सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयको तयारी छ। तर नेकपामा सहमित जुटेन भने भोलिको बैठक पनि सूचना टाँसेर स्थगित गर्नु पर्ने हुन्छ।





प्रतिक्रिया