प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । आज बस्ने बैठकमा माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा एक्लै जाने वा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग सहकार्य गर्ने भन्ने विषयमा समेत आजको बैठकबाट निष्कर्ष निकाल्ने तयारी कांग्रेसले गरेको छ । तर बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु भने सहभागी नहुने भएका छन् ।देउवाले बोलाएको बैठकमा सहभागी नहुने मात्र होइन, असन्तुष्ट पक्षले समानान्तर बैठक नै बोलाएको छ ।
संस्थापन पक्षले दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको छ भने असन्तुष्ट पक्षले महामन्त्री डा शशांक कोइराला निवासमा बैठक बोलाएको छ ।
‘२ बजे केन्द्रीय समिति बैठक छ’ संस्थापन पक्षका नेता ज्ञानेन्द्र बहादुर कार्कीले भने,‘राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन, उपेन्द्र यादवजीको पार्टीसँगको तालमेल लगायतका विषयमा निर्णयमा पुग्ने कार्यक्रम रहेको छ ।’पार्टीका वरिष्ठ नेता, महामन्त्रीसहितका नेताहरुले भने देउवाले बोलाएको बैठकमा सहभागी नहुने भनेर खबर पठाइसकेका छन् ।
‘उहाँहरुले९पौडेल पक्ष० बैठकमा सहभागी नहुने भनेर खबर गर्नु भएको छ’ नेता कार्कीले भने,‘केही साथीहरु आउनु भएन भनेर महत्वपूर्ण विषयलाई रोक्न मिल्दैन । बहुमतको आधारमा भएपनि अघि बढ्नुपर्ने हुन्छ ।’
राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ९ गते हुँदैछ । उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।
रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।
राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने व्यवस्था गरिएको छ ।





प्रतिक्रिया