आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश नम्बर २ मा चार पार्टीका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन्।
प्रदेश २ मा राष्ट्रिय सभाको ४ सिटका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी (राजपा), नेपाली कांग्रेस र समाजवादी पार्टी गरी ४ पार्टीका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्ता गराउनेहरुमा खुल्ला तर्फ समाजवादी पार्टीबाट अनिरुद्ध प्रसाद सिंह यादव र राजपाबाट मृगेन्द्र प्रसाद सिंह यादव रहेका छन्।
त्यस्तै महिलामा नेकपाबाट तुलसा दाहाल र नेपाली कांग्रेसबाट नगिना यादवले उम्मेद्वारी दिएका छन्। यता दलिततर्फ समाजवादी पार्टीबाट रामपृत पासवानले उम्मेद्वारी दिएका छन्। यसअघि पनि पासवान सोही पार्टीबाट राष्ट्रिय सभा सदस्य थिए। उनलाई पार्टीले फेरी अवसर दिएको छ।
नेकपाबाट दलित कोटामा राधेश्याम पासवानले उम्मेद्वारी दर्ता गराए। अपाङ्ग तथा अल्पसंख्यकमा नेपाली कांग्रेसबाट भोला पजियार र राजपाबाट शेखर सिंहले उम्मेद्वारी दर्ता गराएका छन्।
प्रदेश नम्बर २ मा राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा र राजपा तथा कांग्रेस र समाजवादीले चुनावी तालमेल गरेका छन्। उम्मेद्वारी दर्ता गराउनुअघि नेकपा र राजपाका कार्यकर्ताहरु जुलुशसहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए।
५९ सदस्यीय राष्ट्रिय सभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ। त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्।
राष्ट्रियसभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ।





प्रतिक्रिया