काठमाडौं । सत्तारूढ नेकपाले आफ्नो सिद्धान्तभूमिको रूपमा लिने छिमेकी मुलुक चीन र महान् नेता चित्रित गर्ने कामरेड माओत्सेतुङको पालामा घटेको लिनपियाओ काण्ड अब नेकपाभित्र नै घट्ने सम्भावना बढेको छ । माओत्सेतुङका पालाका लिङपियाओको नयाँ रूपमा नेकपामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रकट हुन थालेको एक स्थायी समिति सदस्यले देशान्तरलाई बताए । चीनका लागि पूर्वराजदूत टंक कार्कीले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बुद्धिजीवीहरूसँगको भेटमा पोखरेलले चिनियाँ नेताहरूलाई बारम्बार केपी ओलीको उत्तराधिकारी म नै हुँ भन्ने सन्देश पठाएको भनेबाट पनि पुष्टि हुन्छ ।
धेरै पटक कार्यवाहक प्रधानमन्त्री भएका पोखरेल लिङपियाओको रूपमा विभिन्न देशका कूटनीतिक र राजनीतिक नेताहरू समक्ष प्रस्तुत हुन थालेको नेकपाभित्र चर्चा छ । लिनपियाओ पार्टीका उपाध्यक्ष र तत्कालीन रक्षामन्त्री नै थिए । उनले आफू अध्यक्ष र प्रधानमन्त्री बन्न आफ्ना नेता माओलाई मार्ने षड्यन्त्रसमेतमा संलग्न भएका थिए । माओ रेलमा साघांई जान लाग्दा उनले हेलिकोप्टरबाट बम खसालेर मार्ने योजना बनाएका थिए । त्यो योजना पर्दाफास भएपछि प्लेनबाटै बेइजिङ भागी त्यसपछि तीन किलोमिटर पर बेइदाही सहरबाट सपरिवार रसिया भाग्न खोज्दा सेनाको फाइटर प्लेनको आक्रमणमा सपरिवार मारिए ।
अहिले रक्षामन्त्री संयोगले ईश्वर पोखरेल छन् । उनी पार्टी एकतापछि महासचिव खोसिँदा रन्थनिएका थिए । २० महिनाअगाडि यो सरकार बन्दा केपी ओली यिनलाई मन्त्री पनि बनाउने पक्षमा थिएनन् । बनाए पनि बिना विभागीय बनाउनेसम्म सोचेका थिए तर राष्ट्रपति विद्या भण्डारीसमक्ष रोइकराई गरी अर्थमन्त्री माग्न पुगेका थिए । तर प्रम ओलीले विश्वासिलो नभएकोले उनलाई खासै जनसरोकार नहुने मन्त्रालय रक्षा दिए । त्यसयता पनि पोखरेल लगातार पार्टी एकताको बर्खिलापमा बोलिरहेका छन् र अर्का अध्यक्ष प्रचण्डलाई सत्तोसराप गरेर केपी ओलीको बफादार देखिने प्रयासमा छन् ।
तर हालै भएको एउटा घटनाले सिंगो नेकपामा पोखरेल शंकाको घेरामा परेका छन् भने पार्टी अध्यक्ष एवं केपी ओलीसमेत सशंकित भएका छन् । प्रचण्डको नेतृत्वमा चीन भ्रमण गर्ने कार्यतालिका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यका कारण रद्द भएपछि पोखरेलले चीनका कूटनीतिक तथा राजनीतिक नेताहरूसँग ओलीको उत्तराधिकारी अब म नै हुँ भनी चीनसँग आफ्नो नेतृत्वमा निम्तो मगाएपछि यो प्रकरणले नेकपामा भुइँचालो गएको हो । सूत्रका अनुसार करिब २ महिना पहिले चीनको सियान सहरमा भएको सैनिकहरूको खेलकुद प्रतियोगितामा आठ जना नेपाली सेनाका खेलाडीको नेतृत्व गर्दै गएका पोखरेलले बेइजिङबाटै विदेश विभागका नेताहरू बोलाएर कन्भिन्स गरेको भन्ने पार्टीमा चर्चा छ । त्यसरी चीनले पठाएपछि केपी ओली आफैंले चीनका सम्बन्धित नेताहरूसँग सम्पर्क गरी व्यक्तिको नाममा निम्तो नपठाउन र नेकपामा कस्को नेतृत्वमा जाने निर्णय नेकपाले नै गर्न पाउनुपर्ने समेत अनुरोध गरेको ओली निकट एक नेताले देशान्तरलाई बताए ।
मन्त्री पोखरेलले सबैजसो विदेशी कूटनीतिक तथा राजनीतिक व्यक्तित्वलाई ओलीको उत्तराधिकारी म नै हुँ भन्दै हिँड्ने गरेपछि नेकपामा पोखरेल लिङपियाओ पथमा लागेको चर्चा चलेको हो । पोखरेल यसपटक ओली खेमाबाट महासचिव बने पनि यसभन्दा अगाडि सधैं ओलीविरोधीको रूपमा पार्टीभित्र चिनिन्थे । उनी पहिलोपटक झलनाथ खनालको महासचिवको रूपमा विजयी भएका थिए । पार्टीमा माधव नेपालको एकछत्र राज चलुन्जेल उनको विश्वास पात्रको रूपमा देखिएँ । त्यसताका उनी संगठन विभाग प्रमुख, उपत्यका इन्चार्ज, सचिवालय प्रमुखजस्ता महत्वपूर्ण पदहरूमा रहे । कम्युनिस्ट पार्टीमा सधैं पद र पैसामा आशक्ति गर्नेमा पूर्वमाओवादीमा कृष्णबहादुर महरा र एमालेमा पोखरेल पर्छन् । पोखरेल ज्ञानेन्द्रको असोज १८ को कु पछि बनेको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । त्यतिबेला उनले भ्रष्टाचारको पैसा घरको पानी ट्यांकीमा लुकाएको चर्चा थियो । अहिले उनी धुम्बाराहीको आफ्नो घर बेचेर अस्ट्रेलियाका व्यापारी दीपक खड्काले ग्रान्डी अस्पताल नजिक किनिदिएको आलिसान बंगलामा बस्दै आएका छन् ।
नेकपामा पद आशक्तिको चाँडै नै पतन हुने उदाहरण महरा बने । अब पतन हुने पालो पोखरेलको हो कि भन्ने चर्चा नेकपामा छ । २६ डिसेम्बर माओको जन्म दिन पारेर २०३५ सालमा तत्कालीन मालेको गठन भएको थियो । यी चतुर पोखरेल दोस्रो वर्ष अर्थात् २०३६ सालमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा भाग लिन बिना पासपोर्ट मुस्ताङबाट चीन पुगेका थिए तर बुद्धि भ्रष्ट भएका कारण महाधिवेशनमा टिपोट गरेका सबै कुरा उतै छोडेर आएको तत्कालीन मालेका पुराना नेताहरू बताउँछन् ।





प्रतिक्रिया