देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रानीपोखरीको पुनर्निर्माणको काम तीव्र, वैशाखसम्म सम्पन्न हुने

देशान्तर

काठमाडौं ।  आगामी वैशाखसम्ममा सक्ने गरी रानीपोखरीको पुनर्निर्माणको काम तीव्ररुपमा अघि बढेको छ। अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निणको काम निकै अघि बढिसकेको छ। पोखरीको ४६ प्रतिशत काम सकिएको छ।

पोखरीको सौन्दर्यकरणको काम २२ प्रतिशत सकिएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ। पोखरीमा अहिले गोकर्णबाट ल्याइएको माटो धमाधम लगाउने काम भइरहेको छ। त्यसपछि इँटा लगाउने तयारी छ। हाल ६० कामदारले काम गरिरहेका छन्। गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो।

निधारित समयमै सक्ने गरी कामले गति लिएको प्राधिकरणको दाबी छ। माघ अन्तिम सातासम्म पर्खाल लगाउने र पोखरीमा कालोमाटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणले जनाएको छ। बालगोपालश्वर मन्दिरमा काठको काम भइरहेको छ। त्यस्तै‚ पर्खालको काम पनि लगभग सकिएको छ। प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आगामी वैशाखसम्म नागरिकले पुरानै शैलीको रानीपोखरी देख्ने पाउनेछन्।

उनले भने‚ ’निर्माणअन्तर्गत धेरै काम सकिएको छ, बाँकी काम पनि नियमितरूपमा भइरहेकाले तोकिएको समयमा पुनर्निर्माण सम्पन्न हुनेमा कुनै शङ्का लिनु पर्दैन।‘ शुरुमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले काठमाडौं महानगरपालिकामै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म काम अघि बढ्न सकेन। मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो।

मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनर्निर्माण गर्न गत असार २४ मा प्राधिकरणले १० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको हो। भूकम्प गएकै वर्ष २०७२ माघ २ मा राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनर्निर्माणको शुरुवात रानीपोखरीबाटै गरेकी थिइन्। रानीपोखरी पुनर्निर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ।

पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले २५ करोड बजेट विनियोजन गरेको छ। चन्द्रशम्शेरको पालामा पुनर्निर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ। मन्दिरको उचाइ ५३ फिटको हुनेछ।