काठमाण्डौं । नेपाली कांग्रेसमा जारी आन्तरिक विवाद अन्त्यका लागि आज पनि शीर्ष नेताहरुबीच छलफल जुटदैछन् । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो ।
संस्थापन पक्षले विधान मिचेको भन्दै इतर पक्षले लामो समयदेखि जनाउँदै आएको असन्तुष्टि अन्त्यका लागि आज बैठक बस्न लागेको सभापति देउवा निकटका नेताहरुले बताएका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहलगायतका नेताहरु उपस्थित हुने इतरपक्षबाट वार्ता टोलीमा रहेका केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए ।
यसअघि बुधबार पनि शीर्ष नेताहरुबीच छलफल भएको थियो । आजको बैठकले केन्द्रीय विभागहरु घटाउने तथा नेपाल विद्यार्थी संघलगायतका भ्रातृ संगठनको महाधिवेशनका लागि तदर्थ समिति गठन गर्ने तयारी गरेको छ ।
संस्थापन र इतरपक्षबीच भागबाण्डाका आधारमा विभाग तथा भ्रातृ संगठनहरुलाई नेतृत्व दिने तयारी छ । असन्तुष्ट पक्षको दाबीअनुसार तरुण दलमा असन्तुष्ट पक्षको ३५ र संस्थापनको ६५, विभागमा असन्तुष्ट पक्षको ४० र संस्थापनको ६०, नेविसंघमा असन्तुष्ट पक्षको ४० र संस्थापनको ६० र कार्यसम्पादनमा पनि असन्तुष्ट पक्षको ४० र संस्थापनको ६० को हिसाबले नेतृत्व तथा पदहरुको बाँडफाँट गर्ने मोटामोटी सहमति यसअघिको वार्ता समितिमा भएको छ ।





प्रतिक्रिया