देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश नं. ५ सरकारको अभियानः सुस्तामा सुरक्षित आवास निर्माण शुरु

देशान्तर

नवलपरासी । प्रदेश नं. ५ सरकारले पश्चिम नवलपरासीको सुस्ताका नागरिकका लागि आवास बनाउन शुरु गरेको छ । आधारभूत सेवाबाट समेत वञ्चित भई दयनीय जीवन बिताउँदै आएका सुस्तावासीका लागि सरकारले आवास बनाउन शुरु गरेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । सुस्ता गाउँपालिकाको पहलमा प्रदेश नं. ५ सरकारले आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ ।

सुस्ताका २५० घरधुरीलाई आवास निर्माण गर्ने योजनाअनुसार पहिलो चरणमा १५० घर निर्माण शुरु गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले राससलाई जानकारी दिए । नारायणी नदीपारिको सुस्ता गाउँमा अधिकांश कच्ची घर रहेका छन् । बाढीको समयमा अधिकांश घर डुबानमा पर्ने गरेको छ । यहाँ २६५ घरधुरीमध्ये १५ घर मात्रै पक्की रहेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।

उनले भने, ‘सुस्तावासी नेपालीले नेपाली भूमि बचाउन गरेको योगदानको कदर गर्दै नेपाली भएकामा गर्व गर्ने र सरकारको पनि अनुभूति हुने गरी गाउँपालिकाले पहल गरेर सुस्तावासीलाई आवासको व्यवस्था गर्न लागेको हो, हामीले शिलान्यास गरेर निर्माण कार्य अघि बढाएका छौँ ।’

गाउँपालिका अध्यक्ष पाण्डेले आवास निर्माणको शिलान्यास गरेका हुन् । प्रदेश सरकारले सुस्ता गाउँपालिका–५ सुस्ता गाउँमा २५० आवास निर्माणका लागि रु पाँच करोड २५ लाख बजेट विनियोजन गरेको छ । प्रतिघरका लागि रु तीन लाख ५० हजार सरकारले उपलब्ध गराएको छ भने थप १५ प्रतिशत उपभोक्ताले लगानी गर्नेछन् ।