देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको केन्द्रीय कमिटी बैठक आजदेखि

देशान्तर

काठमाडौं, १५ माघ । सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुँदै छ । तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता भएपछि गठन भएको नेकपाको २१ महिनामा दोस्रो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

राष्ट्रिय सभा गृहमा विहान ११ बजे शुरुहुने बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । त्यसलगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ । दुवै अध्यक्षका तर्फबाट दाहालले राजनीतिक प्रतिवेदन तयार पारेका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजै महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

अध्यक्ष र महासचिवको प्रतिवेदन पेश भएपछि समूह विभाजन गरेर छलफल चलाउने तयारी नेकपा सचिवालयले गरेको छ ।

सचिवालय सदस्य झलनाथ खनालका अनुसार एक समूहमा ३० जना रहने गरी १५ समूह बनाउने र उनीहरूलाई छलफलका लागि आज र भोलिको समय दिने निर्णय सचिवालयको छ ।

नामको वर्णानुक्रमअनुसार तय गरिने समूहमध्ये ८ वटा समूहले राष्ट्रिय सभागृहमा, ४ वटा समूहले पार्टी कार्यालय धुम्बाराही र ३ वटा समूहले पार्टी कार्यालय पेरिसडाँडामा बसेर छलफल गर्नेछन्  ।

सबैले १७ गते समूहगत निष्कर्ष सुनाएपछि १८ गते सचिवालय बैठक बसेर छलफल गर्ने र १९ गते अध्यक्षद्वयले जवाफ दिने कार्यतालिका रहेको सचिवालय स्रोतको भनाई छ ।

नेकपाले केन्द्रीय कमिटी बैठका लागि १९ गतेसम्म राष्ट्रिय सभागृहको हल बुक गरिसकेको जनाएको छ ।