काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देश जारी गर्दै शहीदका सपनालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निर्वाह गर्न सकेमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।
‘शहीद दिवस, २०७६’ को अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान हुने बताएकी छन् ।
राष्ट्रपतिले शहीद दिवसले सम्पूर्ण राजनीतिक दल, जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि शहादत प्राप्त गरेका शहीदको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेकी छन् ।
देश र जनताको लागि आफ्नो जीवनको आहुति दिने शहीदप्रति श्रद्धा, सम्मान र स्मरणस्वरूप विविध रचनात्मक कार्यक्रम गरी शहीद दिवस मनाउँदै आइएको स्मरण गर्दै उनले तिनको त्याग र वलिदानको प्रतिफलस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएकी छन् । सन्देशमा राष्ट्रपतिले राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि पनि अर्पण गरेकी छन् ।





प्रतिक्रिया