सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको श्रेष्ठले बताए । एकै गाउँका स्थानीय बिरामी परेको बताएका श्रेष्ठले तत्कालका लागि गाउँपालिकासँग भएको जनशक्ति पठाइएको बताए । बिरामीको अवस्थाबारे श्रेष्ठले भने, एम्बुलेन्स लिएर गएका थियौं । केहीको अवस्था त्यसमा बस्न सक्ने पनि छैन । कोरोनाको संक्रमण
हो कि होइन भनेर पनि चाँडै चेक त गर्नुपर्यो ।
संघीय सरकारका निकायहरूमा सम्पर्क गर्दा चीनबाट उक्त ठाउँमा मान्छे नगएकाले आत्तिन नहुने जवाफ मिलेको श्रेष्ठले बताए । उनले भने, केन्द्रमा पनि सम्पर्क गरेका छौं। चीनबाट मान्छे आउने जाने नभएको भएपछि चेक गरिहाल्नु पर्दैन भन्नुभयो । भाइरल सबैतिर छ आत्तिइहाल्नु पर्दैन भन्ने कुरा छ उहाँहरूको । बुधबार बिहान एमबीबीएस डाक्टरलाई लगेर उक्त ठाउँमा जान लागेको उनले जानकारी दिए ।





प्रतिक्रिया