भक्तपुर: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सोभियत संघ र पूर्वी युरोपमा कम्युनिष्ट सत्ताको पतन उल्लेख गर्दै नेपालमा पनि त्यसको संकेत देखिन थालेको बताउनुभयो । कम्यूनिष्टहरुले आफुले आफैलाई सिध्याउने प्रवृत्ति नेपालमा पनि देखिन थालेको बताउनुभएको हो ।
अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरुमा लोभ र भ्रष्टाचारको प्रवृत्ति जान थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
भक्तपुरको मध्यपुर नगरपालिकामा बन्न लागेको नारायणगोपाल जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष दाहालले सत्तामा पुगेपछि आदर्शबाट विचलित हुन थालेको विश्वमा प्रशस्तै उदाहरण रहेको बताउनुभयो । नेपालमा पनि राम्रो संकेत नदेखिएको उहाँको भनाइ थियो ।
उहाँले विश्व इतिहासमा जस्तै नेपालमा पनि कम्यूनिष्टहरु आफुले आफैलाइ सिध्याउने खतरा पैदा भईसकेको संकेत देखापरेको बताउनुभयो । सत्तामा नहुँदा जनताको मन जित्ने कम्यूनिष्टहरु सत्तामा पुगेपछि सत्तालिप्त, लोभ(लालच बढेसँगै आदर्शबाट विचलित हुने गरेको विश्वको इतिहास उदाहरण रहेको बताउँदै हाम्रो देशको आजभोलिको घट्नाक्रम हेर्दा संकेत राम्रो नभएको बताउनुभयो ।
पूर्वसञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाको कमिसन मागेको अडियो सार्वजनिक भएको भोलिपल्ट अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया आएको हो । बाँस्कोटाले हिजो नै पदबाट राजीनामा दिइसक्नुभएको छ ।





प्रतिक्रिया