देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्रकार शिवाकोटीमाथि ‘सुरक्षा थ्रेट’ बढेको भन्दै प्रेस युनियनद्वारा ध्यानाकर्षण

देशान्तर

काठमाडौं । नेपाल प्रेस युनियनका महासचिव एवं हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई फेरि सुरक्षा थ्रेट बढेको भन्दै नेपाल प्रेस युनियन केन्द्रिय समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै युनियनका अध्यक्ष बद्री सिग्देलले महासचिब शिवाकोटीको सुरक्षाका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

गत विहीबार पहिलो पटक तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकलप्रसाद बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा कमिसन सम्बन्धी अडियो सार्वजनिक गरेपछि उनीमाथि सुरक्षा थ्रेट बढेको युनियनको दावी छ ।

विज्ञप्तिमा भनिएको छ,‘अडियो सार्वजनिक घट्नापश्चात महासचिव एवं प्रधानसम्पादक शिवाकोटीको निवास तथा कार्यालय आसपासमा केही अपरिचित व्यक्तिले शंकास्पद गतिविधि गर्ने गरेको र रेकी गरी फर्कने गरेपछि उहाँलाई असुरक्षा महशुस भएकोप्रति प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।

साथै विभिन्न व्यक्तिहरुले उहाँलाई समाजिक सञ्जालमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धम्क्याउने र अपशब्द प्रयोग गर्ने गरेकोप्रति प्रेस युनियन खेद प्रकट गर्दै त्यस्ता व्यक्तिलाई तत्काल कानूनी कारवाही गरी स्वतन्त्र र निर्वाध पत्रकारिता गर्ने वातावरणको ज्ञारेन्टी गर्न सरकारसँग माग गर्दछौं ।’

युनियनले मुलुक र जनताका पक्षमा समाचार लेख्ने र अनियमितता एवं भ्रष्टाचारका काण्ड सार्वजनिक गर्ने पत्रकारले राज्यबाट पुरस्कृत हुनुको सट्टा असुरक्षा महशुस गर्नु भनेको सिंगो पत्रकारिता जगतका लागि दुःखद विषय हो भन्दै संविधानले ज्ञारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न र निर्वाध स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षसँग प्रेस युनियनले माग गरेको छ ।