देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जग्गा बकस लिने सबै कर्मचारीका सन्तान!

देशान्तर

ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश कर्मचारीका श्रीमती, छोराछोरी र आफन्त छन्। मालपोत कार्यालय डिल्लीबाजर, समरजंग कम्पनी, गृह मन्त्रालयका कर्मचारीले सुर्वण शमशेरका हकवालाबाट आफ्ना नातागोताको नाममा बकस गरी आफ्नोमा गरेका छन्।

ललिता निवासको ११२ रोपनी जग्गा राणा परिवारको नाममा ल्याउन कमिसन स्वरुप कर्मचारीका परिवारको नाममा बकस गरिएको देखिएको छ। यो जग्गा २०२१ सालमा नै अधिग्रहण गरी क्षतिपूर्ति समेत दिएर सरकारको नाममा ल्याइएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गराएको आरोप पत्रमा निर्वाचन आयोगका आयुक्त शाहकी श्रीमति उर्मिलासहित १३ कर्मचारीका परिवार र आफन्त छन्। उनीहरूले जग्गा फिर्ता गरेको ८ दिनभित्र बकस गरिदिएको अख्तियारले विशेष अदालतमा पेस गरेका आरोप पत्रमा उल्लेख छ।

गैह्रकानुनी फिर्ता भएको (२०४९ पुस २३) आठ दिनभित्र (२०४९ माघ २ मा) बकस पत्रको लिखत तयार भएको छ। २०५० जेठ २९ मा पारित भएको लिखतबाट आफू समेतको नाममा ललिता निवासको जग्गा प्राप्त गरेको देखिएको छ।

सरकारी जग्गा व्यक्ति विशेषलाई फिर्ता दिने गरी गैह्रकानुनी निर्णय भएका आठ दिन भित्र यो प्रकरणमा संलग्नता र सरकार नभएका स्वतन्त्र व्यक्तिले जग्गाधनी भनिएका राणा परिवारलाई खुसी बनाइ, रिझाइ ६ रोपनी ९ आनासम्म जग्गा बकस पत्र मार्फत प्राप्त गरेको हो भनी विश्वास गर्न सक्ने स्पष्ट आधार र ठोस प्रमाण नदेखिएको मुद्दामा उल्लेख छ।

राणा परिवारबाट गैह्रकानुनी रूपमा निर्वाचन आयुक्त सुधीरकुमार शाहकी श्रीमती उर्मिला शाहले तीन कित्ता बकस लिएको पाइएको छ। उर्मिलाले एक लाख ५४ हजार ७ सय र ६ लाख ४ हजार ७ सय थैली कायम गरी कित्ता नम्बर ३६ को १ रोपनी ३ पैसा र कित्ता नम्बर ११ को ११ आना २ पैसा र १७ नम्बर कित्ताको ३ रोपनी ५ आना बकस लिएकी थिइन।

बकस लिने बखतमा सुधीर शाह मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृत थिए।

बकस लिएकी उर्मिलाले २०४९ मंसिर १ मा शैलजा राण र भुवनकुमारी चापागार्इंसहित आफू संयुक्तरूपमा खरिद गरी बकस लिएको बयानमा उल्लेख छ। यो जग्गा २०६० मा रामकुमार सुवेदीको परिवारलाई बिक्री गरिसकेको बताएकी छन्। मैले जग्गा खरिद गर्दा मेरो श्रीमान सुधीर शाह भक्तपुर मालपोतका अधिकृत हुनुहुन्थ्यो, उक्त जग्गा लिखित पारित गरी खरिद गरेको हो, उनले बयानमा भनेकी छन्, ‘मलाई जग्गाधनीसँग भेटाउने व्यक्ति जग्गा दलाल रामनाथ शर्मा हुन्।’

तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं सहसचिव गेहनाथ भण्डारीकी श्रीमती भुवनकुमारी चापागाई र सासु सोदाकुमारी चापागाईका नाममा जग्गा बकस गरिएको छ।

भुवनकुमारीको नाममा ३ कित्ता र सोदाकुमारीको नाममा एक कित्ता बकस गरिएको आरोप पत्रमा उल्लेख छ। अन्रपूर्ण पाेस्टमा खबर छ ।