देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको संरचना समायोजन अझै भएन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले तेस्रोपटक थप गरेको समयावधि सकिदा पनि पार्टीको अन्तरिम संरचना समायोजनको कामले पूर्णता पाउन सकेको छैन । कांग्रेसले फागुन १५ भित्र पार्टीको अन्तरिम संरचना समायोजन सक्ने गरी तेस्रोपटक थप गरेको अवधिमा ५२ जिल्लामा मात्रै समायोजनको काम सम्पन्न भएको छ ।

यसअघि फागुन ८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी पदाधिकारीसहित बसेको केन्द्रीय निर्वाचन समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का र समितिका संयोजन राधेश्याम अधिकारीले ३० जिल्लामा समायोजनको सम्पूर्ण प्रक्रिया सम्पन्न भएको जानकारी गराएका थिए ।

बैठकले फागुन १५ भित्र बाँकी जिल्लालाई समायोजन प्रक्रिया पूर्ण बनाउन अपिल गरे पनि समायोजनले पूर्णता पाउन सकेन । निर्वाचन समिति संयोजक अधिकारीले जिल्ला सभापतिहरू सक्रिय नभएकाले पार्टीका संरचना गठनमा ढिलाइ भएको बताएका छन् ।

कांग्रेसले समायोजन प्रक्रिया सम्पन्न गरेका जिल्लाहरूमा शुक्रबारबाट क्रियाशील सदस्यता वितरणको काम सुरु गर्ने भएको छ । गत माघ २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शुक्रबारदेखि क्रियाशील सदस्यता वितरण गर्ने गरी महाधिवेशन कार्यतालिका बनाएको थियो ।