काठमाडौं । संगठनभित्र वैज्ञानिक वृत्तिविकासको अवसर नभएको भन्दै नेपाल प्रहरीका डीआईजी डा। राजीव सुब्बाले राजीनामा दिएका छन् ।
प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारीअनुसार उनले पाँचदिन अघि नै राजीनामा बुझाएका हुन् । तर अहिलेसम्म स्वीकृत भइसकेको छैन ।
एकवर्ष कार्यकाल बाँकी रहँदा नै डीआईजी सुब्बाले राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।
उनको राजीनामा गृहमन्त्रालयले नै स्वीकृत गर्नुपर्ने हुन्छ । डीआईजीसम्मको राजीनामा गृहमन्त्रालयले नै स्वीकृत गर्ने व्यवस्था रहेको छ ।
सुब्बा लामो समयदेखि चारहजार पाँच सय कर्मचारी रहेको प्राविधिकतर्फबाट पनि विशिष्ट श्रेणीमा जाने व्यवस्था गर्नुपर्ने पक्षमा थिए ।
सूचना सञ्चार प्रविधिमा अमेरिकाबाट विद्यावारिधि गरेका सुब्बाले भूकम्पका बेला सुरु गरेको सूचना प्रवाहको त्यसबेला निकै प्रसंशा गरिएको थियो ।
तर लामो समयसम्म पनि सुनुवाइ नभएपछि उनले राजीनामा दिएको स्रोतले जानकारी दियो ।
“घरायसी कारण देखाउँदै उहाँले राजीनामा बुझाउनुभएको छ,” स्रोतले भन्यो, “पाँचदिन अघि नै उहाँले राजीनामा बुझाउनुभएको हो । कारण घरायसी देखाए पनि उहाँले लामो समयदेखि वृत्ति विकासको कुरा लगातार उठाउँदै आउनुभएको थियो । तर त्यो अवसर नपाएपछि एकवर्ष कार्यकाल रहँदै उहाँले राजीनामा बुझाउनुभएको हो ।





प्रतिक्रिया