काठमाडौं, २९ फागुन । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुनेछ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ । यसअघि अघिल्लो बैठकमै पेश गरिने कार्यसूची रहेपनि समय अभावका कारण आजका लागि सारिएको हो ।
यस्तै बैठकमा ’धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेश हुनेछ । ’कारागार विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने विद्येयक प्रस्ताव पनि आज बस्ने बैठकको कार्यसूचीमा राखिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले अन्तरदेशीय संगठित अपराध महासन्धी अन्तर्गतको पार्लेमो अभिसन्धि पनि अनुमोदनका लागि पेश गर्ने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराइले जानकारी दिनुभयो । राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।





प्रतिक्रिया