देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रकम हिनामिना गरेको आरोपमा पक्राउ

देशान्तर

महोत्तरी महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा डेढ करोडभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’को एक करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । पक्राउ परेका तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक रहेका छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेर आज सञ्चारकर्मीलाई जानकारी गराइएको हो ।

पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाई बैंकमा जम्मा नगरी रु एक करोड ६१ लाख ७६ हजार आठ सय ६० हिनामिना गरेको देखिएको छ । सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रबन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीका आधारमा ती दुवैमाथि बैंकिङ कसुर मुद्दामा कारवाही भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । यसका अलावा त्यत्रो ठूलो रकम हिनामिनामा ती दुईजनाको मात्रै हात नरहेको आशङ्का गर्दै वित्तीय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि उच्च निगरानी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।