काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्नुहुँदै सोमबारदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाउने घोषणा गर्नुभयो ।
लामो दूरीका सार्वजनिक गाडीमा मात्रै रोक लगाउने सरकारको निर्णयले मानिसहरुमा कौतुहल पैदा भएको छ । लामो दूरी भनेको कत्तिसम्मलाई भन्ने र सार्वजनिक बाहेकका गाडी चलाउन पाउने कि नपाउने भन्नेबारे सरकारले स्पष्ट पार्न सकेको छैन ।
तर, सवारी ऐनमा उल्लेख भएअनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा माथिकालाई बुझ्न सकिन्छ । २५० किलोमिटरभन्दा धेरै दूरीलाई लामो दूरी भनेर सवारी ऐनले किटान गरेपनि सरकारले भने यति नै दूरीलाई लामो दूरी भनिन्छ भनेर किटान नगरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी एवं एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सवारी ऐनमा भएको व्यवस्था र सरकारले गरेको घोषणाअनुसार चैत १० गतेदेखि २५० किलोमिटरभन्दा धेरै दूरीका सार्वजनिक गाडी मात्रै रोकिने भएको हो । २५० किलोमिटरभन्दा कमका लागि कुनै रोकटोक छैन ।
यस्तै सरकारले सार्वजनिक गाडीबाहेक अरु गाडी चलाउन पाउने कि नपाउने भन्ने विषयमा पनि यकिन गरेको छैन। मोटरसाइकल, ढुवानीलगायत गाडीमा रोक लाग्छ कि लाग्दैन भन्ने विषयमा ट्राफिक प्रहरी महाशाखा नै अन्यौलमा छ ।





प्रतिक्रिया