काठमाडौं । उपत्यका भएर छुट्ने लामो दूरीका सवारीसाधनले बढी भाडा लिएको गुनासो बढेपछि ट्राफिक प्रहरीले ‘स्ट्रिङ अपरेसन’ थालेको छ। जसअन्तर्गत बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
कोरोना भाइरस प्रकोप फैलिन सक्ने सम्भावित जोखिमबाट बच्न भन्दै काठमाडौं उपत्यका छोड्नेको संख्या दैनिक बढिरहेको र मौकाको फाइदा उठाई सार्वजनिक बसहरूमा बढी भाडा लिनेलाई ट्राफिक प्रहरीले कारबाही गरिरहेको जनाएको छ। ट्राफिक प्रहरी आफैं यात्रु बनेर गएको र ती चालकहरुलाई प्रक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
पक्राउ पर्नेहरूमा रूपेश कार्की, सन्तोष श्रेष्ठ, गोविन्द बुढाथोकी, देविन्द्र कार्की, कमल गुरुङ, लालबहादुर भुजेल, रोशन राणा कुवँर, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, तिलक लामा, गौतम तामाङ, मानसिंह रूम्वा, कर्ण थिङ, आकाश लामा, सुदर्शन रसाईली, शुक्र लामा, दिनेश शाह र जयन्द्र कुमार शाही छन्।
उनीहरूलाई प्रहरीले नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चाबहिल र गौशाला स्थानबाट पक्राउ गरेको हो। ट्राफिक प्रहरी महाशाखाले यही ७ गते ९ जना र चैत्र ८ गते १७ जना व्यक्तिलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा बुझाइसकेको छ। हालसम्म यसरी पक्रउ पर्नेको संख्या ४६ पुगेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया