काठमाडौं । स्वास्थ्य सामग्री व्यवसायीहरुको संगठन रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले देशभरका हरेक अस्पताल र स्वास्थ्य संस्थाहरुमा चौबिसै घन्टा आवश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न र आवश्यकता अनुसार मर्मत संभारको कार्य गर्ने व्यवस्था मिलाउन संघमा आवद्ध व्यवसायी तथा कर्मचारीहरुलाई अपिल गरेको छ ।
संघका अध्यक्ष सुरेश घिमिरेले बुधवार एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ भाइरसको समस्यासँग जुध्न आफ्नो सामथ्र्यले भ्याएसम्म हरेक स्वास्थ्य संस्थामा सामग्री आपूर्तिको व्यवस्था मिलाउन सम्पूर्ण व्यवसायीहरुलाई अपिल गरेका हुन् ।
“हामीले आफ्नो सामर्थले भ्याए सम्म हरेक अस्पताल र स्वास्थ्य संस्थामा चौबिसौँ घन्टा आवश्यक स्वास्थ्य सामाग्री आप्ूर्ति गर्ने र आवश्यक्ता अनुसार मर्मत संभारको कार्य गर्ने व्यवस्था मिलाउन सहयोग गरिदिनहुन सम्पूर्ण व्यवसायी र सम्वद्ध कर्मचारी साथीहरुलाई हार्दिक अपिल गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । सेवा प्रदान गर्दा आवश्यक दुरी कायम गर्न र सुरक्षाका उपाय अवलम्बन गर्न पनि संघले अनुरोध गरेको छ ।
कोभिड–१९ बाट बच्न सरकारले चालेका कदमहरुलाई संघले पूर्ण समर्थनका साथ स्वागत पनि गरेको छ । “अहिलेको परिस्थितिमा हामी यस विषय संग सम्बन्धित व्यवसायी भएकोले पनि राष्ट्र सेवाको गम्भीर परिक्षाको घडीमा उभिन आइपुगेका छौँ ।
यस संकटको समयमा हामी सम्बद्ध सबै व्यवसायी साथीहरु एकजुट भई व्यक्तिगत स्वार्थवाट माथी उठी राष्ट्रको स्वार्थमा खरो उत्रिन सफल हुनेछौँ र अहिले हाम्रो काँधमा आएको गम्भीर जिम्मेवारीवाट कहि कतै चुक्ने छैनौ भन्ने विश्वास छ”, विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया