काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले चलाएको अभियानलाई सबैले साथ दिनुपर्ने बताएका छन् ।
कांग्रेस नेता गिरीले मंगलबार प्रेस नोट जारी गर्दै सरकारले जारी गरेको लकडाउनबाट कोरोना भाइरस फैलनाबाट बच्न सकिने बताए । ‘सरकारले शुरु गरेको लकडाउनले मजदुरी गरेर दैनिक जीविकोपार्जन गर्ने सर्वसाधारणलाई समस्या भएको छ’, उनले भने, ‘अति विपन्न वर्गलाई खाद्यान्नलगायतका सहायता उपलब्ध गराएर लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ ।’
नेता गिरीले चीनबाट स्वास्थ्यसम्बन्धी सामग्रीहरू आएको भन्दै जिल्लाहरूमा पठाएर कोरोना भाइरसको पहिचान, रोकथाम र उपचारमा स्वास्थ्यकर्मीहरूले युद्धस्तरमा काम गर्नुपर्ने बताए । उनले चिकित्सक र स्वास्थ्यकर्मीहरूको मनोवल उच्च बनाउने दायित्व पनि सबैको रहेको बताए ।कांग्रेस नेता गिरीले दाङमा कोरोना भाइरसको संक्रमणको नमूना परीक्षण गर्ने व्यवस्था छिटो गर्न माग पनि गरेका छन् ।
लकडाउनका कारण आफ्नो गृहजिल्ला दाङ पनि समस्यामा रहेको भन्दै कांग्रेसका केन्द्रीय सदस्य गिरीले भने, ‘लकडाउनले गर्दा देश नै ठप्प छ । लकडाउनलाई सहयोग गर्नुपनि छ । तर, सरकारले मजदुरी गरेर खाने वर्ग र समस्यामा परेका जनतालाई छिटोभन्दा छिटो सहायता वितरण गर्नुपर्छ ।’
कांग्रेसका केन्द्रीय सदस्य गिरीले दाङको सिमाना भारतसँग जाडिएको भन्दै भारतबाट जिल्ला प्रवेश गर्ने व्यक्तिहरूको स्वास्थ्य जाँच र प्रक्रियाहरू पूरा गरेर मात्रै घर जानदिनुपर्ने बताए ।





प्रतिक्रिया